सल्यान : सल्यानको बागचौर नगरपालिका वडा नम्बर १० को दुबेरीचौरमा नेपाली सेनाको भगवती प्रसाद गुल्मले खानेपानी निर्माण गरेको छ । निर्माण शुरु गरेको २९ औं दिनमै खानेपानी निर्माण सम्पन्न गरी दुबेरीचौर – बल्लेटोल खानेपानी उपभोक्ता समितिलाई हस्तान्तरण गरेको हो ।
गुल्मका उप सेनानी शंकर डंगोलको नेतृत्वमा पुस १६ गते बाट शुरु गरेको खानेपानी योजना यही माघ १४ गते नै निर्माण सम्पन्न गरी समुदायलाई हस्तान्तरण भइसकेको गुल्मपति विदुर अधिकारीले जानकारी दिनुभयो । खानेपानी योजना निर्माण सम्पन्न भएपछि बर्षौदेखि खानेपानी अभाव झेल्दै आएका बल्लेटोलका १६ घर क्षेत्री र ३ घर दलित समुदायका गरी १९ घरपरिवार लाभान्वित भएका छन् ।

खानेपानी निर्माणका लागि नेपाली सेनाको १ लाख ५० हजार, बागचौर नगरपालिका कार्यालयको १ लाख, भगवती प्रसाद गुल्मको ५० हजार र बागचौर नगरपालिका वडा नम्बर १० दुबेरीचौरको २ लाख ४७ हजार ९ सय ७६ गरी दश लाख ४७ हजार ९ सय ७६ रुपैयाँ लगानी भएको भगवती प्रसाद गुल्मका गुल्मपति विदुर अधिकारीले जानकारी दिनुभयो । लामो समय देखि खानेपानीको अभावमा काकाकुल सरह भएका बल्लेटोलका बासिन्दा खानेपानी टोलमै आएपछि खुसी भएका छन् ।
नेपाली सेनाले नागरिक तथा जिल्लाका सरोकारवाला निकायसँग समन्वय गरी सल्यानमा विभिन्न विकास निर्माणको काम समेत गर्दै आएको छ ।


768 पटक हेरिएको 

