
काठमाडौ : विश्व वातावरण दिवसको अवसर पारी ग्लोबल आइएमई बैंक लिमिटेडले वातावरण संरक्षणका लागि विशेष कार्यक्रमहरू सञ्चालन गरेको छ। बैंकले कीर्तिपुरको मच्छेगाउँदेखि चम्पादेवी मन्दिर परिसरसम्मको एक दिने हाइकिङ कार्यक्रम आयोजना गरी प्लास्टिक फोहोर संकलन गरेको हो।
कीर्तिपुर नगरपालिका र नेपाल रेडक्रस सोसाइटी, कीर्तिपुर शाखासँगको सहकार्यमा सम्पन्न कार्यक्रममा करिब १५० केजी प्लास्टिक फोहोर संकलन गरिएको बैंकले जनाएको छ। फोहोर संकलनपछि उक्त फोहोर कीर्तिपुर नगरपालिकाको फोहोर व्यवस्थापन केन्द्रमा हस्तान्तरण गरिएको छ।
स्थानीय समुदायको सहकार्यमा हाइकिङ मार्गका विभिन्न स्थानहरूमा बाँसबाट निर्मित डस्टबिनहरू राखिएको छ, जसले दीर्घकालीन रूपमा फोहोर व्यवस्थापनमा योगदान पुर्याउने अपेक्षा गरिएको छ।
कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी, नायव प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल, कीर्तिपुर नगरपालिकाका प्रतिनिधिहरू, नेपाल रेडक्रस सोसाइटी कीर्तिपुर शाखाका पदाधिकारीहरू, बैंकका कर्मचारीहरू तथा स्थानीय स्वयम्सेवकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
ग्लोबल आइएमई बैंकले आफ्नो १८औँ वार्षिकोत्सवको अवसर पारेर देशभर १८ हजार बिरुवा रोप्ने लक्ष्य सहित वृक्षारोपण कार्यक्रम पनि सञ्चालन गरेको छ। यस कार्यक्रम मार्फत वातावरण संरक्षण, जलवायु परिवर्तनको असर न्यूनीकरण तथा स्थानीय समुदायको आयआर्जनमा समेत सकारात्मक प्रभाव पार्ने विश्वास बैंकले लिएको छ।
बैंकले बैंकिङ सेवाका अतिरिक्त स्वदेशी उत्पादन प्रवर्द्धन, जलवायु र वातावरण संरक्षण र दिगो विकासमा निरन्तर योगदान दिँदै आएको छ।


419 पटक हेरिएको 

