बोर्ड स्थापना भएपछि ज्वालामूखीका ३८ प्रतिशत घरपरिवारले तिर्छन खानेपानी महसुल

  वास खबर सम्बाददाता  390 पटक हेरिएको

धादिङ : खानेपानी महसुल बिनै खानेपानी उपभोग गर्दै आएका धादिङको ज्वालामूखी गाउँपालिकाका ३८ प्रतिशत घरपरिवारले अहिले खानेपानी महसुल तिरेर मात्र खानेपानी उपभोग गर्दै आएका छन् । ज्वालामूखी खानेपानी, सरसफाइ तथा स्वच्छता व्यवस्थापन बोडमा छरिएर रहेका खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाहरु समेत समाहित भएपछि ३८ प्रतिशत घरपरिवारले नियमित खानेपानी महसुल बुझाउन थालेका हुन्।

गाउँपालिकामा अध्यक्ष यामनाथ दनैका अनुसार ज्वालामूखी गाउँपालिकामा ६ हजार ७९ घरधुरी छन् । ती मध्ये २ हजार ३ सय ९ घरमा मिटर सहितको धारा जडान गरिएको छ । ती घरपरिवारले नियमित खानेपानी महसुल बुझाउँदै आएका छन् । यो करिब ३८ प्रतिशत हो।

विस्तृतमा हेर्नुहोस् यो भिडियो :

३२ वटा खानेपानी संस्था बोर्डमा समाहित

चालु आर्थिक बर्ष भित्र ३५ सय घरधुरीलाई मिटर सहितको धारा पु¥याउने लक्ष्य राखिएको र असार मसान्तसम्म ३१ सय घरमा मिटर सहितको धारा जडान भैसक्ने अध्यक्ष दनैले बताउनुभयो । अबको दुई बर्षभित्र सबै खानेपानी उपभोक्ता समितिहरुलाई बोर्ड मातहतमा ल्याईसक्ने र गाउँपालिका सबै घरधुरीमा मिटर सहितको धारा जडान गर्ने गाउँपालिकाको लक्ष्य छ ।

ज्वालामूखी गाउँपालिकामा साना ठूला गरी १५६ वटा खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाहरु छन् । ती मध्ये हालसम्म ३२ वटा खानेपानी उपभोक्ता संस्थाहरुलाई बोर्डको मातहतमा ल्याईसकेको र ८ वटा संस्था बोर्डमा समाहित हुने क्रममा रहेको छ।

अब सरकारको मुख ताकिरहनु पर्दैन

गाउँपालिका अध्यक्ष दनैले गाउँपालिका भित्र सञ्चालित सबै खानेपानी तथा उपभोक्ता संस्थाहरुलाई बोर्ड मातहत ल्याए पछि यसको सञ्चालन तथा व्यवस्थापनमा सरकारले लगानी गरिरहनु नपर्ने बताउनुभयो ।

‘उपभोक्ताबाट खानेपानी महसुल उठाएपछि खानेपानीको मर्मत सम्भार, सञ्चालन र व्यवस्थापनका लागि कुनै पनि संस्था वा राज्यसँग गुहार्नु पर्दैन, हामी आफै सञ्चालन, मर्मत तथा व्यवस्थापन गर्न सक्छौं’ उहाँले भन्नुभयो।

उहाँले खानेपानीको दिगोपना र सार्वजनिक सम्पत्तिको संरक्षण तथा संबर्दवनका लागि बोर्ड अवधारणामा जानुको विकल्प नभएको बताउनुभयो। यसले गर्दा खानेपानीको मर्मत सम्भार, पुनः निर्माणको नाममा राज्यले बर्षेनी लगानी गरिरहेको अर्बौ रकम जोगिने बताउनुभयो।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार