
बागलुङ : जिल्लाको बडिगाड गाउँपालिका वडा नम्बर ३ सिसाखानी, भौगोलिक रूपमा अलि विकट छ। डाँडाको बस्ती। नदी र पानीको मुहान तल्लो भेगमा हुँदा खानेपानीको समस्या झेल्दै आएका थिए र अहिले पनि झेल्दैछन्। बेलायती गैरसरकारी संस्था लुथरनले २०४७ सालमा बस्तीभन्दा झण्डै १० किलोमिटर पर लहरेनी खोलाबाट पानी ल्याउने गरी खानेपानी आयोजना सञ्चालन गरेको थियो। पानीको तिर्खा सहजै मेटिने अपेक्षामा गाउँलेहरूले श्रमदान गरेका थिए।
छेडा पोखरामा रिजर्ब ट्याङ्की निर्माण गरेर झण्डै एक दर्जन सामुदायिक धारा मार्फत पानी वितरण गरिएको थियो। त्यसले पनि यहाँका नागरिकको तिर्खा मेटाउन सकेन। बर्खाभरि प्रशस्त पानी धारामा आए पनि माघ–फागुनदेखि जेठ–असारसम्म पानीको हाहाकार भैरहन्थ्यो। सुख्खा समयमा रातको ३ बजेदेखि नै धारोमा पानी भर्न गाग्रीका लाइन लाग्थे। बिहान तीन घण्टा र साँझ तीन घण्टा पानी खोलिन्थ्यो। तर मुख्य बस्ती रहेको गाउँ रिजर्ब ट्याङ्कीभन्दा टाढा भएकाले आधा एक घण्टामै पानी आउन रोकिन्थ्यो।
बिहान पानी भर्न राखिएको गाग्री साँझसम्म र साँझ पानी भर्न राखिएका गाग्री भोलिपल्ट बिहानसम्म धारोको लाइनमै राखिन्थे। यही समस्या समाधान गर्न २०६७ सालमा ओखरगैंडा खानेपानी आयोजना सुरु गरिएको हो। नेपाल सरकारको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय बागलुङ मार्फत अगाडि बढाइएको योजनामा पहिलेको थप दुई किलोमिटर पर घिनसिङ खोलाबाट मौरीभिर सम्मो भन्ने ठाउँमा पानी रिजर्ब गरेर लिफ्ट मार्फत ओखरबोट किम्लेमा पानी तानेर वितरण गरिने योजना रहेको थियो। तर त्यो योजना अहिले १५ वर्ष पुग्दासम्म पनि अधुरै छ।
नेपाल सरकारले वर्षैपिच्छे ५/१० लाख रुपैयाँ विनियोजन गर्दै आएको छ। सम्मोमा पानी ट्याङ्की बनेको छ। केही सार्वजनिक धारा बनेका छन्। तर योजना पूरा हुने गरी पर्याप्त बजेट विनियोजन भएन। २०७२ सालमा नेपाल संघीयतामा गएपछि उक्त खानेपानी योजना सशर्त कार्यक्रम अन्तर्गत प्रदेश सरकारको जिम्मेवारीमा पुगेको हो। एक घर एक धारा कार्यक्रमको अवधारणा अनुसार योजनाको पुनः डिजाइन गरिएको हो। पहिले निर्माण भएका रिजर्ब ट्याङ्की र सार्वजनिक धारा प्रयोगविहीन बने।
पुरानै ठाउँ, पुरानै ट्याङ्कीको आडमा अर्को ४५ हजार लिटरको ट्याङ्की निर्माण गरिएको हो। एक घर एक धारा अन्तर्गत झण्डै एक सय घरधुरीको घरघरमा धारा निर्माण भएका छन्। तर अहिलेसम्म पनि त्यहाँका नागरिकले धित मरुन्जेल पानी उपयोग गर्न पाएका छैनन्। १५ वर्ष अगाडि सुरु भएको योजना अधुरै रहँदा सहज पानी उपयोग गर्न पाउने त्यहाँका नागरिकको सपना पनि अधुरै रहेको छ।
सिसाखानीको साविक वडा नम्बर १ बाघखोरमा रिजर्ब ट्याङ्की निर्माण भएपछि मात्रै सहज रूपमा पानी वितरण गर्न सकिने ओखरगैंडा खानेपानी आयोजनाका अध्यक्ष दिलबहादुर पुनले बताउनुभयो। ‘सरकारले वर्षमा पाँच लाख–दश लाख बजेट हालेर टार्छ, एउटा सरकारले बजेट हालेको ठाउँमा अर्को सरकारले बजेट हाल्न मिल्दैन भन्छन्,’ उहाँले भन्नुभयो, ‘बजेटको अभावमा आयोजना सम्पन्न भएको छैन। दुई वटा ट्याङ्की र केही व्यक्तिगत तथा केही सामुदायिक धारा निर्माणको काम पनि बाँकी छ।’ एउटा ४५ हजार लिटर र अर्को २० हजार लिटरको ट्याङ्की निर्माण गर्न बाँकी रहेको पनि उहाँले बताउनुभयो।
‘लगभग ६० लाख वरपर बजेट भएको खण्डमा हाम्रो सबै काम पूरा हुन्थ्यो, बजेट पाँच–दश लाखमा सीमित हुन्छ,’ उहाँले भन्नुभयो, ‘झण्डै २० लाख रुपैयाँ त हामीले पुरानो काम गरेको तिर्नै बाँकी छ।’ ट्याङ्की सङ्गै वडा कार्यालय, विद्यालय लगायतका ठाउँमा सार्वजनिक धारा र केही घरमा निजी धारा निर्माणको काम पनि बाँकी रहेको उहाँले बताउनुभयो। अहिले बस्तीभन्दा झण्डै एक किलोमिटर तल रहेको रिजर्ब ट्याङ्कीबाट ओखरबोटमा रहेको २० हजार लिटरको ट्याङ्कीमा झारेर अस्थायी रूपमा पानी वितरण गरिएको छ।
बिहान दुई घण्टा र साँझ दुई घण्टा पानी तानेर वितरण भइरहेको उहाँले बताउनुभयो। ‘केहीको व्यक्तिगत धारा र केही सार्वजनिक धारामा गरेर दुःखका साथ पानी प्रयोग त गरेका छौँ,’ अध्यक्ष पुनले भन्नुभयो, ‘योजना कहिले सम्पन्न हुने हो थाहा छैन।’ सिसाखानीका अधिकांश नागरिकले अहिले पनि पानी बोकेर उपभोग गर्नुपरेको स्थानीय सिसाखानी माविका शिक्षक किशोर काउचा घर्तीले बताउनुभयो। ‘अहिले पनि यहाँका धेरै नागरिकले पानी गाग्रीमै बोकेर प्रयोग गर्नुपर्छ,’ उहाँले भन्नुभयो, ‘विद्यालय, स्वास्थ्यचौकी लगायतका ठाउँमा यसले झन् अप्ठ्यारो बनाएको छ।’
यस वर्ष सिसाखानी निवासी नागरिकलाई अस्थायी रूपमै भए पनि पानी खुवाउन सफल भएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय बागलुङका सूचना अधिकारी सागर अधिकारीले बताउनुभयो। ‘यस पटक अस्थायी रूपमा पानी खुवाउन सफल भएका छौँ,’ उहाँले भन्नुभयो, ‘आगामी वर्ष अर्को ट्याङ्की निर्माण गरेपछि हरेक घरघरमा रहेको धारामा पानी खस्नेछ।’ पुराना योजनाहरूलाई सम्पन्न गर्ने कुरामा कार्यालयले ध्यान केन्द्रित गरेको उहाँले बताउनुभयो। यो खबर नागरिक दैनिकले प्रकाशन गरेको छ।


370 पटक हेरिएको 

