डोल्पाको चुं गाउँमा स्वच्छ पानीको बन्दोबस्त, बर्षौदेखिको सपना भयो साकार

  वास खबर सम्बाददाता  309 पटक हेरिएको
🔗
9
Shares

डोल्पा : काठको धाराबाट धमिलो पानी पिउन बाध्य डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–९ चुं गाउँका बासिन्दाका लागि अब त्यो विगतको पीडादायी स्मृति मात्र बनिसकेको छ। सबैका लागि दिगो खानेपानी, सरसफाइ तथा स्वच्छता (सुस्वा) आयोजना मार्फत चुं गाउँमा स्वच्छ पिउने पानी घर–घरमा पुर्‍याएपछि गाउँलेको जीवनशैलीमै परिवर्तन आएको हो।

घर–घरमै धारा जडान भई भान्सासम्म स्वच्छ पानीको सहज भएपछि गाउँमा हर्षको माहोल छाएको छ। यही प्रसङ्गमा समाजसेवी धर्मराज बुढाले भन्नुभयो “हामी धमिलो पानी गाईवस्तुले टेकेको धाराबाट पिउँथ्यौं। अहिले आफ्नै घरमा धारा जडान भएपछि हाम्रो सपना पुरा भएको महसुस भएको छ।”

खानेपानी योजना उद्घाटन कार्यक्रममा त्रिपुरासुन्दरी नगरपालिकाका नगरप्रमुख जनचन्द्र रोकायाले भावुक हुँदै भन्नुभयो “म पनि चुं गाउँजस्तै पालो बसेर पानी ल्याउने मान्छे हुँ। आज यहाँको बासिन्दाले जुन परिवर्तन अनुभव गरिरहनुभएको छ, त्यो मेरो आफ्नै जीवनसँग गाँसिएको छ।” उहाँले बस्ती एकीकृत भइसकेकाले ढल व्यवस्थापनका लागि पनि नगरपालिकाबाट चाँडै पहल गरिने प्रतिबद्धता जनाउनुभयो।

सुस्वाका प्राविधिक विज्ञ नारायणसिं खवासले योजना बनाउनु भन्दा पनि त्यसलाई दीर्घकालसम्म नियमित मर्मत गरी जोगाउनु महत्वपूर्ण भएको बताउनुभयो। उहाँले मर्मत संभार कोष नै योजनाको निरन्तरता र दिगोपनाको आधार भएको बताउनुभयो।

नगर उपप्रमुख देवी घर्तीले गुणस्तरीय योजना निर्माणमा ध्यान दिनुपर्ने आवश्यकता औंल्याउँदै भन्नुभयो, “राम्रो काम गर्दै पनि मुद्दा हाल्ने प्रवृत्ति बढेको छ। तर, योजना परिमाण र गुणस्तरका आधारमा सम्पन्न भयो भने चिन्ता आवश्यक हुँदैन। चुं गाउँको उदाहरण प्रशंसनीय छ।”

फिनल्यान्ड सरकार, युरोपियन युनियन, नेपाल सरकार तथा त्रिपुरासुन्दरी नगरपालिकाको साझेदारीमा सञ्चालित यो आयोजनाको कुल लागत रु. ९२ लाख ३१ हजार ५२९ रहेको छ, जसमा रु। १७ लाख ५३ हजार ९९० बराबरको स्थानीय श्रम योगदान रहेको छ । गाउँका १६६ घरधुरीमध्ये १६३ घरमा पक्की धारा जडान भई स्वच्छ पानी सिधै भान्सासम्म पुगेको छ।

सुस्वा परियोजना मार्फत जनप्रिय आधारभूत विद्यालयमा १० लाख ४९ हजार ११९ रुपैयाँ लागतमा छात्र–छात्रा तथा अपाङ्गमैत्री शौचालय पनि निर्माण गरिएको छ। उपभोक्ता समिति अध्यक्ष विष्णुबहादुर बुढाको अध्यक्षतामा खानेपानी तथा शौचालयको स्थलगत अनुगमन तथा सार्वजनिक परीक्षण कार्यक्रम समेत सम्पन्न भएको छ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार