
काठमाडौं : खानेपानी तथा ढल व्यवस्थापन विभागका उपमहानिर्देशक रामचन्द्र काफ्लेको विदाई गरिएको छ । निजामति सेवा ऐन बमोजिम सेवा अवधि पूरा गरी अनिवार्य अवकाश प्राप्त गरेपछि उपमहानिर्देशक काफ्लेको खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक ई.राम कुमार श्रेष्ठ र विभाग परिवारले विदाई गरिएको हो ।
निजामति सेवा ऐन २०४९ को दफा ३३ मा ५८ बर्ष उमेर पूरा भएको निजामति कर्मचारीले निजामति सेवाबाट स्वतः अवकाश पाउने व्यवस्था छ ।
महानिर्देशक श्रेष्ठले उपमहानिर्देशक काफ्लेको सेवा निवृत्त जीवन अझ सुखमय र सक्रियपूर्ण रहोस् भन्ने शुभकामना व्यक्त गर्नुभयो । अवकाश प्राप्त उपमहानिर्देशक काफ्लेले खानेपानी तथा सरसफाइ क्षेत्रमा हासिल गरेको विज्ञतालाई पुनः खानेपानी र सरसफाइ क्षेत्रले उपयोग गर्न पाउने विश्वास समेत व्यक्त गर्नुभयो।
विभागका अर्का उपमहानिर्देशक जक्की अहमद अन्सारीले यस अघि नै अनिवार्य अवकाश लिईसक्नु भएको छ ।
सरकारले खानेपानी मन्त्रालय र अन्तर्गतको निकायहरुको संगठन संरचना र दरबन्दी तेरिज स्वीकृत गरेपछि खानेपानी विभागमा तीन जना उप महानिर्देशकको दरबन्दी रहेको छ।
नयाँ संरचना अनुसार एक जना उपमहानिर्देशकले खानेपानी महाशाखा अर्का उपमहानिर्देशकले ढल तथा सरसफाइ व्यवस्थापन महाशाखा र तेस्रो उपमहानिर्देशकले सेवा नियमन तथा समन्वय महाशाखाको नेतृत्व गर्नुहुन्छ।
सेवा नियमन महाशाखा प्रमुख एवं उपमहानिर्देशक जक्की अहमद अन्सारीले अवकाश लिए सँगै रिक्त पदमा यस अघि नै सहसचिव राजेन्द्र सापकोटा नियुक्त भैसक्नु भएको छ।


688 पटक हेरिएको 

