
सिन्धुली : कमलामाई नगरपालिका–६ स्थित जनजागृति माध्यमिक विद्यालय, निबुवाटारका २२८ विद्यार्थीहरूका लागि अहिलेको विद्यालय वातावरण निकै सहज र स्वास्थ्यप्रद भएको छ । पहिले जुन विद्यालयमा पिउन पानी समेत मुस्किलले मिल्थ्यो, अहिले त्यही विद्यालयमा सरसफाइका लागि पनि पर्याप्त पानी उपलब्ध छ ।
विद्यालयमा पिउन र सफाइका लागि पानी पर्याप्त थिएन, भएका धारा समेत प्रयोगकर्तामैत्री थिएनन् । नेपालको संविधानको धारा ३५(४) अनुसार प्रत्येक नागरिकलाई स्वच्छ पानी पाउने हक सुनिश्चित गरिएको छ । त्यस्तै, विद्यालय खानेपानी, सरसफाइ तथा स्वच्छता सम्बन्धी कार्यविधि, २०८० अनुसार विद्यालयमा प्रतिविद्यार्थी प्रतिदिन १२ लिटर पानी उपलब्ध गराउनुपर्ने प्रावधान छ । तर जनजागृति माध्यमिक विद्यालयमा यी आधारभूत सुविधाहरूको अभाव थियो ।
विद्यार्थी छिरिङ थिङ भन्नुहुन्छ, “हामी कहिलेकाहीँ तिर्खाउँदै घर फर्किनुपपर्थ्यो ।” अर्की विद्यार्थी निमा पाख्रिन सम्झनुहुन्छ, “सफाइका लागि त झन् पानी कम पर्थ्यो, महिनावारी भएको बेला त झनै समस्या हुन्थ्यो ।”
यो समस्या समाधान गर्न ‘युवा आवद्धताद्वारा स्थानीय तहको जवाफदेहिता अभिवृद्धि परियोजना’ अन्तर्गत “युवा नागरिक अंकपत्र” कार्यक्रम कार्यान्वयन गरियो । प्लान इन्टरनेशनल नेपाल सँगको साझेदारीमा मानव तथा राष्ट्रिय विकास समाज (ह्याण्ड्स) नेपालले सो परियोजना सिन्धुली जिल्लाका दुधौली र कमलामाई नगरपालिकामा कार्यान्वयनमा ल्याएको हो । यस क्रममा विद्यालयका विद्यार्थी, शिक्षक, अभिभावक र समुदायबीच लक्षित समूह छलफल र आमनेसामने बैठकहरू गरिए ।
छलफलमा पिउने पानीको अभाव मुख्य सवालका रूपमा उठान भयो । कार्यक्रममा समुदायका अगुवा, जनप्रतिनिधि, वडा कार्यालयका पदाधिकारी र विद्यालय व्यवस्थापन समिति र प्रधानाध्यापकको समेत सहभागिता रहेको ह्याण्ड्स नेपालका कार्यक्रम संयोजक रोशन तिमल्सिनाले जानकारी दिनुभयो ।
समुदाय स्वयम् विद्यालयमा पानी पुर्याउन तयार भयो । वडा कार्यालयले नेतृत्व लिएर मुहानबाट विद्यालयसम्म पाइपलाइन विस्तार गरियो । वडा अध्यक्ष इन्द्र वाइवाले समन्वयमा महत्वपूर्ण भूमिका खेल्नुभयो । “ह्याण्ड्स नेपालसँगको सहकार्यमा प्रयोगकर्तामैत्री धारा बन्यो,” उहाँले भन्नुभयो, “हामीले तत्काल पानी पुर्यायौं । तर, कमलामाई नगरपालिकाको विद्यालय खानेपानी, सरसफाइ तथा स्वच्छता कार्यविधि अनुसार प्रतिविद्यार्थी प्रतिदिन १२ लिटर पानी पुगिसकेको छैन, यसमा अझ पहल गर्नुपर्छ ।”
मानव तथा राष्ट्रिय विकास समाज नेपालले किशोरी सशक्तीकरण परियोजना मार्फत विद्यालयमा धारा निर्माणमा सहयोग गर्यो । अहिले विद्यालयमा प्रयोगकर्तामैत्री धारा निर्माण भइसकेका छन्, जसले साना बालबालिकादेखि किशोरीसम्मका आवश्यकताहरू सम्बोधन गर्न सहज बनाएको छ ।
विद्यार्थी रिजन कार्की भन्नुहुन्छ, “अहिले पानी पिउन सजिलो छ । सफाइका लागि पनि पानी पुग्छ । पहिलेजस्तो धाउँधौ गर्नु पर्दैन ।” किशोरी धनमाया नेपाली भन्नुहुन्छ, “पहिले महिनावारी भएको बेला स्वच्छता व्यवस्थापन गर्न समेत निकै मुस्किल थियो । अहिले स्वच्छ पानी छ, विद्यालयमै बसेर पढ्न सकिन्छ ।”
युवा स्वयंसेवक हिरादेवी गौतमको अनुभव पनि उस्तै छ । उहाँ भन्नुहन्छ, “पहिले विद्यार्थीहरू तिर्खाउँदा हामी पनि लाचार हुन्थ्यौं । अहिले पर्याप्त, सफा र पहुँचमैत्री पानी व्यवस्थाले विद्यार्थीहरूको पढाइमा ध्यान केन्द्रित गर्न सहज बनाएको छ ।”
प्रधानाध्यापक तेजमान स्याङतान विद्यालयमा आएको परिवर्तनबाट सन्तुष्ट देखिनुहुन्छ । उहाँ भन्नुहुन्छ, “पानी आएको छ । तर यसको दिगोपन र निरन्तरताका लागि शिक्षक–अभिभावक संघ, विद्यालय व्यवस्थापन समिति र नगरपालिका सबैको मिलेर काम गर्नुपर्ने आवश्यकता छ ।”
विद्यालयमा पानीको मात्र व्यवस्थापन नभई सरसफाइप्रति सचेतना पनि बढेको छ । विद्यार्थीहरूले हात धुने, धारा सफा राख्ने, महिनावारी सरसफाइमा ध्यान दिने लगायतका अभ्यासहरू गर्न थालेका छन् । यस अभियानले स्थानीय तहलाई जवाफदेही बनाउन, युवालाई सक्रिय बनाउने, र समुदायलाई विद्यालयको आधारभूत सेवामा संलग्न गराउने सकारात्मक उदाहरण प्रस्तुत गरेको छ । अब जनजागृतिका विद्यार्थीहरू तिर्खाउँदैनन्, र उनीहरु स्वच्छ, सुरक्षित र सम्मानजनक वातावरणमा अध्ययन गर्न पाएका छन् ।
समस्या पहिचानदेखि समाधान सम्मको यो यात्राले देखाउँछ, जब समुदाय, स्थानीय सरकार र युवाहरू एउटै लक्ष्यका लागि जुट्छन्, तब परिवर्तन सम्भव हुन्छ । अब बाँकी चुनौती भनेको यो परिवर्तनलाई स्थायी बनाउने र अझ मापदण्डअनुसारको पानी व्यवस्था सुनिश्चित गर्नु हो ।


351 पटक हेरिएको 

