
काठमाडौ : काठमाडौमा पिउने पानीको आवश्यकता पूरा गराउन प्रशोधित पानीको सेवा दिईरहेका पानी उद्योगका ४४ वटा जार काठमाडौं महानगरपालिकाले जफत गरेको छ । महानगरपालिकाले अनुगमनमा क्रममा कुच्चिएका, फुटेका र अपारदर्शी जार भेट्टाइए पछि जफत गरिएको महानगरले जनाएको छ । जफत गरिएका जारहरु नष्ट गर्न महानगर प्रहरी बलको जिम्मा लगाइएको छ ।
काठमाडौं महानगरपालिकाको कृषि तथा पशुपन्छी विभागले मंगलबार गोङ्गबु बसपार्क क्षेत्रमा पानी ढुवानी गर्ने २८ वटा सवारी साधनको अनुगमन गरेको थियो । अनुगमनमा ४४ वटा जार मापदण्ड विपरित भेटिएका हुन् ।
अनुगमनका क्रममा त्रुटि पाइएका पानी उत्पादक कम्पनीहरुलाई मापदण्ड विपरीत प्रशोधित पिउने पानीको जार बिक्री वितरण नगर्न, जारमा स्पष्ट विवरण खुलेको लेबल राख्न, कम्पनीले जारी गरेको बिल बिजक गाडीमै लिएर हिँड्न निर्देशन दिइएको छ । यो निर्देशनसँगै पानीजन्य संक्रमणबाट जनस्वास्थ्यमा आउन सक्ने खराव अवस्था हुन नदिन संवेदशील रहन आग्रह समेत गरेको छ ।


309 पटक हेरिएको 

