
धरान : धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले धरानको दीर्घकालीन खानेपानी समाधानका लागि प्रस्तावित सप्तकोशी खानेपानी योजनामा एशियाली विकास बैंक (ADB) बाट ऋण लिने प्रस्ताव अस्वीकार गर्दै खानेपानी मन्त्रालयलाई स्पष्ट धारणा पेस गरेका छन्।
मेयरद्वारा पठाइएको औपचारिक पत्रमा धरानलाई कम्तीमा ३० वर्ष पुग्ने दीर्घकालीन खानेपानी योजना अन्तर्गत सप्तकोशीको पानी ल्याउने प्रयास निरन्तर भइरहे पनि हालै उक्त योजनाका लागि नेपाल सरकारले चालु आर्थिक वर्ष २०८२/०८३ मा चार करोड रुपैयाँ विनियोजन गरेको तर बाँकी रकम ADB को ऋणबाट ल्याइने तयारी प्रति भने असन्तोष प्रकट गरिएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अर्थ मन्त्रालयलाई समेत बोधार्थ दिएर लेखिएको पत्रमा भनिएको छ, “देशलाई विदेशी ऋणको भारी थप्ने काम उपयुक्त होइन। धरान उपमहानगरपालिकाले अघिल्लो ADB ऋण समेत अझै तिर्न बाँकी रहेको अवस्थामा नयाँ ऋण स्वीकार गर्नु व्यवहारिक छैन।”
मेयर साम्पाङले यस्तो महत्वपूर्ण योजना आफ्नै राष्ट्रिय आम्दानी तथा स्रोत साधनबाट सञ्चालन गर्न सरकारलाई आग्रह गर्दै चेतावनी पनि दिएका छन् कि यदि सरकार आफैंले योजना अगाडि बढाउन नसके, नगरवासीहरू आफ्नै खोलाखोल्सीबाट पानी जोहो गरेर गुजारो चलाउन बाध्य हुनेछन्।



314 पटक हेरिएको 

