शिक्षण अस्पतालमा फोहोर प्रशोधन तथा भण्डारण केन्द्रको स्थापना

काठमाडौ ।

अस्पतालजन्य फोहोर व्यवस्थापन गर्न त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान शिक्षण अस्पतालले फोहोर प्रशोधन तथा भण्डारण केन्द्रको स्थापना गरेको छ । अस्पतालबाट निस्कने फोहोरलाई वैज्ञानिक रुपमा व्यवस्थापन, भण्डारण र प्रशोधन गर्न केन्द्रको स्थापना गरिएको अस्पतालका निर्देशक कार्यकारी डाक्टर दीपक महराले बताउनुभयो ।

‘विभिन्न उपचार सेवालाई विस्तार गर्दै लैजाने क्रममा धेरै फोहोर निस्कन्छ । त्यसलाई कम गर्न फोहोर व्यवस्थापन केन्द्र बनाउनु परेको हो । फोहोर व्यवस्थापन नहुँदा उपचारका लागि आएका बिरामी अस्पतालकै फोहोरको संक्रमणबाट थप बिरामी हुनुपर्ने अवस्था आउँछ’ उहाँले भन्नुभयो ।

अस्पतालले हेल्थ केयर फाउण्डेशन नेपालको सहयोगमा फोहोर व्यवस्थापन केन्द्र स्थापना गरेको हो । दुई वर्षभित्र अस्पतालबाट निस्कने सबै फोहोर व्यवस्थापन गर्न भौतिक संरचना निर्माण गर्ने लक्ष्य राखिएको छ । यसका लागि दुई करोड ५० लाख रुपैयाँ खर्च लाग्ने अस्पतालको अनुमान छ ।

फोहोरलाई वर्गीकरण गर्ने, जम्मा गर्ने, निर्मलीकरण गर्ने, त्यसको उचित व्यवस्थापन गर्ने काम विश्व स्वास्थ्य संगठन र नेपाल सरकारले तोकेको मापदण्ड अनुसार गरिने अस्पतालले जनाएको छ ।

अस्पतालजन्य फोहोरको वैज्ञानिक व्यवस्थापन गर्न बनेको स्वास्थ्य संस्थाजन्य फोहोर प्रशोधन तथा भण्डारण केन्द्रको हिजो (बुधबार) त्रिविका उपकुलपति प्राडा तीर्थ खानियाँले उदघाटन गर्नुभयो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार