आमा समूहलाई खानेपानी सुरक्षा योजना बारे अभिमुखीकरण

  वास खबर सम्बाददाता  336 पटक हेरिएको

परासी : बर्दघाट खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले हरियालीनगर आमा समूहलाई खानेपानी सुरक्षा योजनाबारे अभिमुखीकरण गराएको छ। आफ्ना उपभोक्तालाई खानेपानी सुरक्षा योजना बारे अभिमुखीकरण कार्यक्रमलाई निरन्तरता दिदै संस्थाले आमा समूहलाई अभिमुखीकरण गराएको हो।

संस्थाले आफ्नो कार्यक्षेत्रमा गठित २२ वटा टोल विकास संस्थामा सक्रिय आमा समूहहरू र युवा क्लवहरूलाई खानेपानी सुरक्षा योजनाबारे अभिमुखीकरण गराउँदै आईरहेको छ।

उपभोक्ता संस्था अन्तर्गतको खानेपानी सुरक्षा योजना समितिका संयोजक कमल थापाको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका अध्यक्ष दिपक लम्साल, बर्दघाट नगरपालिकाका खानेपानी तथा स्वच्छता शाखा प्रमुख कृष्णहरि पौडेल, हरियाली नगर टोल विकास संस्थाका सचिव भीमबहादुर सारू, हरियालीनगर आमा समूहकी अध्यक्ष मनकुमारी गुरुङ्ग लगायतले खानेपानी सुरक्षा योजनाबारे जानकारी गराउनु भएको थियो।

कार्यक्रममा अध्यक्ष लम्सालले बर्दघाट खानेपानीले वितरण गर्दै आएको पानीलाई फिल्टर गर्न नपर्ने बताउनु भयो । उहाँले शुद्ध पानी वितरणमा संस्था प्रतिबद्ध रहेको बताउँदै पानीको गुणस्तमा समस्या आए टोल फ्रि नंम्बर, फेसबुक पेज, मोबाईल एप र संस्थाका जिम्मेवार व्यक्तिहरूलाई सम्पर्क गरी जानकारी गराउन आग्रह गर्नुभयो । उहाँले उपभोक्ताको स्वस्थ शरीरका लागि शुद्ध पिउने पानीको प्रयोग, वातावरणमैत्री व्यवहार, पूर्ण सरसफाई र आनीवानीमा परिवर्तन आवश्यक रहेको बताउनु भयो ।

हरियालीनगर आमा समूहका ४५ जना महिला उपभोक्ताहरूको सहभागिता रहेको कार्यक्रममा खानेपानी सुरक्षा योजनाका बिषयमा संस्थाका व्यवस्थापक विष्णुप्रसाद भुषालले प्रस्तुतीकरण गर्नु भएको संस्थाका सचिव शोभाकान्त कोइरालाले जानकारी दिनुभयो ।

बर्दघाट खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले उपभोक्ताहरूलाई २४ सै घण्टा खानेपानी उपलब्ध गराउँदै आएको छ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार