
वीरगन्ज : वीरगञ्ज महानगरपालिकाको विभिन्न वडाका टोलहरुलाई सुरक्षित खानेपानीयुक्त समुदाय घोषणा गर्न तीव्र तयारी भैरहेको छ ।
खानेपानीयुक्त समुदाय घोषणा गर्नका लागि खानेपानी तथा सरसफाइ उपभोक्ता समितिहरु सँग छलफल तथा अन्तरक्रिया गरिएको छ। युनिसेफको सहयोग र सहकार्यमा नेपाल खानेपानी संस्थान वीरगन्ज शाखाद्वारा आयोजित छलफल तथा अन्तरक्रिया कार्यक्रममा सुरक्षित खानेपानीको आवश्यकता, खानेपानी असुरक्षित हुने कारणहरु, असुरक्षित खानेपानीको सेवनबाट मानव विकासमा पुग्ने असरहरुका बिषयमा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका सदस्यहरुसँग व्यापक छलफल गरिएको थियो।

छलफल कार्यक्रममा सहभागी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका सदस्यहरुले सुरक्षित खानेपानीको महत्वबारे बुझेको र कार्यक्रम आफूहरुका लागि एकदम समय सान्दर्भिक भएको बताए । वीरगन्जमा पछिल्लो समय पानी नपर्दा हातेपम्पहरु सुक्न थालेको र सुरक्षित खानेपानीको मात्र सेवन गर्ने हो भने पाइपको पानीको विकल्प नभएको बताए ।
कार्यक्रममा खानेपानी संस्था वीरगन्ज शाखाका कार्यालय प्रमुख इन्जिनियर प्रवीण शाहले जमिन मुनिको पानीको सतह घट्दै गएकाले नयाँ धारा जडान गर्न आउने ग्राहकको संख्या अत्यधिक बढेको बताउनुभयो। उहाँले हाते पम्प सुकेको अवस्थामा मात्र नभई अरु अवस्थामा पनि संस्थानले उपलब्ध गराउँदै आएको दिगो र सुरक्षित भएकाले ढुक्क भएर पिउन आग्रह गर्नुभयो।

कार्यक्रममा युनिसेफ नेपालका खानेपानी तथा सरसफाइ (वास) अधिकृत अन्नपूर्णा मिश्रले सुरक्षित खानेपानी र कमजोर सरसफाइका कारण धेरै रोगहरु लाग्ने र कतिपयको मृत्यु समेत हुने भएकाले पिउने पानी सधैं सुरक्षित हुनुपर्ने बताउनुभयो । उहाँले आफ्नो समुदायलाई सुुरक्षित पानी मात्र पिउने समुदाय सुनिश्चित गरी सुरक्षित खानेपानीयुक्त समुदाय घोषणा गर्न सम्बन्धित खानेपानी तथा सरसफाइ उपभोक्ता समिति र सदस्यहरुको भूमिका अहं हुने समेत बताउनुभयो।

वीरगन्ज महानगरपालिकाको वडा नं. ८, १३ र १५ का विभिन्न टोलहरुलाई सुरक्षित खानेपानीयुक्त समुदाय घोषणा गर्नका लागि युनिसेफ नेपालको सहकार्य र सहयोगमा नेपाल खानेपानी संस्थान वीरगन्ज शाखाले विभिन्न अभियानमूलक कार्यक्रमहरु गरिरहेको छ ।

अन्तरक्रिया कार्यक्रममा वीरगन्ज महानगरपालिकाको वडा नं. ८, १३ र १५ का विभिन्न खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष तथा पदाधिकारीहरु र सदस्यहरुको सहभागिता थियो।


500 पटक हेरिएको 

