
वीरगञ्ज : खानेपानीमन्त्री प्रदीप यादवले वीरगञ्ज स्थित खानेपानीको समस्याग्रस्त क्षेत्रको स्थलगत अनुगमन गर्नु भएको छ । जलवायु परिवर्तनका कारण तराई–मधेसका जिल्लामा गम्भीर खानेपानी संकट सिर्जना भए पछि खानेपानीमन्त्री यादव स्थलगत अवलोकन भ्रमणमा निस्किनु भएको हो । विशेष गरी पर्सा, बारा, रौतहट लगायतका जिल्लामा चापाकलहरू सुक्दै जाँदा जनजीवन कष्टकर बन्दै गएको छ।
मन्त्री यादवले सामाजिक सञ्जाल मार्फत जानकारी दिँदै भन्नु भएको छ “यो प्राकृतिक विपत्तिमा पीडित नागरिकसँग सहानुभूति राख्दै म स्वयं प्रभावित क्षेत्रको अवलोकनमा छु।”
खानेपानी संकटको तात्कालिक समाधान स्वरूप बारा, पर्सा लगायत वीरगञ्ज महानगरपालिकाका विभिन्न वडा तथा बस्तिहरूमा हालसम्म २३७ भन्दा बढी डिप बोरिङ गाडिएको मन्त्री यादवले जानकारी गराउनु भएको छ । “आगामी आर्थिक वर्षको सुरुवातसँगै यो कार्यलाई अझ तीव्र गतिमा अघि बढाइनेछ,” मन्त्री यादवको भनाइ छ।

उहाँका अनुसार खानेपानी समस्याको दीर्घकालीन समाधानका लागि एसियाली विकास बैंकको सहकार्यमा ४ अर्ब ५० करोड रुपैयाँको लागतमा वीरगञ्ज बृहत् खानेपानी आयोजना अगाडि बढिरहेको छ। यस परियोजनाबाट स्थायी समाधान हुने उहाँको विश्वास छ।
मन्त्री यादवले विपद्को यस घडीमा सबै नागरिकलाई धैर्य रहन आग्रह गर्दै प्रदेश तथा स्थानीय सरकार, साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरूसँग सहकार्यको आह्वान गर्नु भएको छ । “संकटकालमा सबैको सहकार्य नै हाम्रो बल हो,” मन्त्री यादवको भनाइ छ।


457 पटक हेरिएको 

