वीरगन्जमा पानीको हाहाकार भएपछि रित्तो घैंटो र बाल्टिन प्रदर्शन

  वास खबर सम्बाददाता  495 पटक हेरिएको
🔗
52
Shares

वीरगन्ज : पर्साको वीरगन्ज महानगरपालिका क्षेत्रमा चापाकलहरु सुक्दा पानीको हाहाकार भएपछि जनमत पार्टीका महिलाले बुधबार वीरगन्जको सडकमै उत्रिएर प्रदर्शन गरेका छन् । जनमत पार्टीको भगिनी संगठन महिला जनमत संघ पर्साको अगुवाईमा पार्टीका महिला कार्यकर्ताले घण्टाघर चोकस्थित सडकमा खाली घैटो र बाल्टिन राखेर प्रदर्शन गरेका हुन् ।

‘जल सत्याग्रह’नारा लेखिएको ब्यानरसहित सडक प्रदर्शनमा उत्रिएकाहरूले खानेपानीको संकट समाधानका लागि तीनवटै तहका सरकारसँग माग पनि गरे । प्रर्दशनमा सहभागीहरूले तीनै तहको सरकार आँखा खोल, पानी दे कि मारी दे ,पर्सालाई पानी संकटग्रस्त क्षेत्र घोषणा गरलगायतका नारा लगाएका थिए।

प्रदर्शनमा सहभागी जनमत पार्टी पर्साका अध्यक्ष ओमप्रकाश सर्राफले वीरगन्ज महानगरका साथै पर्सा जिल्लाका विभिन्न पालिकामा अहिले चापाकलहरू सुकेर त्राहीमाम् हुदाँ पनि संघ,प्रदेश र स्थानीय तीनवटै सरकारले ध्यान नदिएकाले बाध्य भइ आन्दोलनमा उत्रिनु परेको बताए।

वीरगन्जममा गर्मीका बेला विगत ३ वर्षदेखि निरन्तर खानेपानीको संकट हुँदै आएपनि तीनवटै तहका सरकारले दीर्घकालीन समाधानका लागि ध्यान नदिएको उनको आरोप छ। उनले भने,‘ तीनवटै तहका सरकार अन्धो,बहिरो भएर वीरगन्जलाई अपहेलित गरिरहेका छन् । वीरगन्जका मान्छेलाई पानी बिना मार्ने प्रयास गरिरहेको छ । तसर्थ तीन तहकै सरकार गम्भीर भएर वीरगन्जलाई पानी संकटग्रस्त क्षेत्र घोषणा गरी तत्काल विशेष प्याकेजमार्फत् पानीको समस्या समाधान गरोस् ।’

मधेस प्रदेशमा आफ्नै पार्टीको सरकार भएको भन्दै उनले पानीको समस्या समाधान नगरिए आफूहरूले मुख्यमन्त्रीको कार्यालय पनि घेराउ गर्ने चेतावनी दिए । यसपालि पनि गर्मीयाम सुरु भएसँगै वीरगन्ज महानगरका सबै वडा तथा पर्साका विभिन्न पालिकामा चापकलहरू सुकेर खानेपानीको संकट हुँदा यहाँको जनजीवन अस्तव्यस्त बनेको छ ।

संघीय सरकारको खानेपानी मन्त्रालय र वीरगन्ज महानगरपालिकाको कार्यालयले वीरगन्जका विभिन्न वडामा डीप बोरिङहरू जडान गरेर पानी आपूर्ति गर्दै आए पनि त्यसले समस्या समाधान हुन सकेको छैन । यसैबिच वीरगन्ज महानगरपालिकाले खानेपानीको ट्यांकरमा पानी ओसारेर संकटग्रस्त वडाहरूमा वितरण गर्न थालेको छ । यस बाहेक टोलटोलमा २ हजार,५ हजार र १० हजार लिटर क्षमताका खानेपानी ट्यांकी जडान गरी महानगरपालिकाले पानीको आपूर्तिको व्यवस्था मिलाएको छ । यो खबर अन्नपूर्ण पोष्टबाट साभार गरिएको हो।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार