
सुर्खेत : दैलेखको नारायण नगरपालिका –१ कुइकानाका प्रेम कोइरालालाई हिजोआज पुराना दिनको सम्झनाले हुरुक्कै बनाउँछ । नबनाओस् पनि किन ? ९२ घरधुरी थियो, गाउँमा १७ वटा पानीका मुहान थिए । हरेकले आफूलाई पुग्ने तरकारी फलाउँथे । सबैजसोका बारीमा सुन्तला, केरा र आँप लगायतका फलफूल थिए । समयअनुसार त्यो चित्र धमिलो बन्दै गयो ।
२०५९/६० साल यता एकपछि अर्को गर्दै पानीका कुवा सुक्दै गए । मूल नफुट्ने, फुटेकोमा पनि पहिलेजस्तो पानी नहुने समस्या देखिन थाल्यो । प्रेमको बगलमै थियो, मुहानबाट ल्याइएको पानीको धारा । मूल सुकेपछि पानी आउनै छाड्यो । त्यसपछि उहाँहरूलाई पानीका निम्ति टाढाको बाटो हिँड्नुपर्ने भयो ।
घर छेउछाउका मुहान सुक्न थालेपछि स्थानीय वरपरका कुवा धाउनुपर्ने बाध्यतामा पर्नुभयो । पानी बोकेर ल्याउँदाको दुःख उहाँहरूका निम्ति आकस्मिकता मात्र नभएर सधैंभरको बाध्यता बन्न थाल्यो । पानी सुक्दै जान थालेपछि खेतीपाती पहिलेजस्तो हुन छाड्यो । बस्तुभाउ पाल्न पनि अतिरिक्त दुःख गर्नुपर्ने बाध्यता थपियो । अनि त्यो बस्तीबाट मानिसहरु बसाइँ सरेर सुर्खेतको वीरेन्द्रनगर र बाँकेको नेपालगञ्जतिर सर्न थाले ।
प्रेमले सुनाउनुभयो, ‘अहिले त मुस्किलले ४० घर पनि गाउँमा छैनन् ।’ पानीको दुःखले बसाइँ सरेकाहरू फर्किनेवाला छैनन् । बाक्लो बस्ती, सुखदुःखमा सबै जना भेला हुने पुरानो प्रचलन र त्यतिबेलाको चाडबाडको रौनक सम्झेर अहिले पनि बेलाबेखत प्रेम चुकचुकाउनुहुन्छ । उहाँले थप्नुभयो, ‘पुराना दिन सम्झिनु मात्र भयो । अब त्यो रौनक गाउँमा खोजेर कहाँ पाउनु ?’
अहिले त समय बदलियो । समयसँगै मौसम बदलिन थाल्यो । बदलिँदो वातावरण र दृश्यमा देखिन थालेका जलवायु परिवर्तनका असरका कारण कर्णालीका धेरै गाउँले कुइकाना गाउँकै नियति भोगिरहेका छन् । वडा १ कै रातामाटा बस्तीकी मञ्जु नेपाली मुहान सुक्दा खोलाबाट पानी ल्याउनुपर्ने बाध्यता रहेको सुनाउनुहुन्छ ।
वैशाख यता बिहान, दिउँसो र साँझ दैनिक तीन पटक उहाँलाई पानी लिन धारामा धाउनुपर्ने बाध्यता छ । उहाँले भन्नुभयो्, ‘कुवाको पानी सुक्यो, खोला खाप्साबाट पानीको जोहो गर्नु परिरहेको छ । सबै समय पानीका लागि खर्चिनुपरेको छ, गाउँमा भरपर्दाे पानीको मुहान छैन ।’ डाँडाको बस्ती भएकाले पानीको अभाव पुस्तौंदेखि भोग्दै आएको उहाँले सुनाउनुभयो । एक त डाँडामाथिको बस्ती । त्यसमाथि खानेपानीका मुहानै सुकेपछि हरेक दिन पानीकै पिरलो हुनेगरेको उहाँको दुखेसो छ ।
वर्सेनी सुक्खा र खडेरी बढ्दैगएको छ । पानीको स्रोत सुक्दैगएका छन् । जसका कारण उब्जनी हुन छोडेको छ । उब्जनी नै हुन छोडेपछि दैलेखको नारायण नगरपालिका १ कुइकानाका बस्तीहरू रित्तिँदै गएका छन् ।
कुइकानाका मानबहादुर केसीले घरमा ताल्चा लगाएर सुर्खेतको वीरेन्द्रनगरमा बस्न थालेको चार वर्ष भयो । गाउँमा पानीका मुहान सुक्दै गएपछि मानबहादुर गाउँ छाड्न बाध्य हुनुभयो । पानी खोज्दै हिँडेका उहाँका लागि कालान्तरमा आफ्नै थातथलो बिरानो भयो । बस्न छाडेपछि उहाँको पुरानो घर भत्किदै गएको छ । बस्ती खण्डहर र उराठलाग्दो छ ।
मानबहादुरलेझैं पानी खोज्दै बसाइ सर्नेहरु बढेपछि कुइकानाको सयौं हेक्टर खेतीयोग्य जमिन बाँझिएको छ । ‘सिँचाइ र खानेपानीको मुहान सुकेपछि बस्न सक्ने स्थिति रहेन’ मानबहादुरले भन्नुभयोे, ‘जमिन सबै बाँझो हुँदैगयो । मानिस र पशुले पानी खान नपाएपछि थातथलो छाडेर बसाइ सर्नुपर्ने बाध्यता आएको हो ।’ उहाँले आफूले बाल्यकालदेखि नै कुइकानामा बिताए पनि अहिले पानीकै कारण छाड्न बाध्य भएको सुनाउनुभयो ।
वीरेन्द्रनगरमा बसे पनि मानबहादुरले गाउँको पुख्र्यौली सम्पत्ति बेच्नुभएको छैन । कानुनी रीत पु¥याएर बसाइँ सर्नुभएको पनि छैन । चार वर्षदेखि उहाँको जग्गा बाँझो छ । ‘घरमा बस्ने कोही पनि नपाएपछि ताल्चा लगाउनुपरेको छ’ मानबहादुरले भन्नुभयो ।
कुनै समय कुइकाना बस्ती उर्वर भूमिकै कारण गाउँ बाक्लो थियो । मानबहादुरको परिवार वीरेन्द्रनगर झर्दा भने घरमा सित्तैमा बस्ने मानिस समेत फेला परेनन् । ‘चार वर्षदेखि खेतबारी बाँझो छ’ उहाँले भन्नुभयो, ‘कमाइ गर्दै गरेको परिवारले छाडेपछि खेती गर्ने अर्को कोही फेला परेको छैन ।’
यस्तै, सोही वडाका पूर्णबहादुर केसीले पनि जन्मथलो छोडेको ६ वर्षभयो । ६ जनाको परिवारसहित उहाँ अचेल वीरेन्द्रनगरमै बस्न थाल्नुभएको छ । ६ वर्षअघि वीरेन्द्रनगर बसाइँ सर्नुभयो । जग्गाजमिन नबेची वीरेन्द्रनगर झरेका पूर्णबहादुर परिवारसहित सुर्खेत हुनुहुन्छ । जग्गाजमिन अलपत्र छोडेर वीरेन्द्रनगर आउनुभएका उहाँ चाडपर्व र पारिवारिक जमघटमा दैलेख जाने गरे पनि सहरका बासिन्दा भइसक्नुभयो ।
पछिल्ला वर्षहरूमा पहाडी जिल्लाको जग्गा जमिन बेचेर वा यसै छाडेर तराईमा बसाइँ सर्नेको संख्या बढ्दैगएको छ । परिवारका ऊर्जावान् युवाहरू व्यवसाय, रोजगारी र पढाइका लागि सहर बस्न थालेपछि पहाडको जमिन बिक्री हुन छोडेको छ । छोराछोरीहरू सुरक्षित भविष्यको खोजीमा गाउँ छोडेर हिँडेपछि जग्गा बाँझै राखेर बाबुआमा पनि पुख्र्यौली थलो छाडेर हिँड्न थाल्नुभएको छ ।
नारायण नगरपालिका १ बाट मात्र गतवर्ष २० घरपरिवारले बराइँसराइको प्रमाणपत्र लिएका थिए । बसाइँसराइ नलिइ गाउँ छोड्नेको संख्या पनि उल्लेखीय मात्रामा रहेको वडा १ का वडा अध्यक्ष शैलेश श्रेष्ठले बताउनुभयो । वडाले बसाइँसराइ रोक्ने योजनाअनुरुप आगामी आर्थिक वर्षमा डेढ करोड बजेट विनियोजन गरिएको उहाँले जानकारी दिनुभयो ।
खानेपानीको अभाव, गुणस्तरीय शिक्षा र उचित रोजगारीको अवसरको खोजीमा बसाइँसराइ गर्ने गरेको पाइएको उहाँको भनाइ छ । नारायण नगरपालिका दैलेख जिल्लाकै जेठो नगरपालिका हो । पालिकाले पनि गाउँमै रोजगारीका अवसर प्रदान गरेर बसाइँसराइ रोक्ने योजना ल्याएको नगरप्रमुख लोमन शर्माले बताउनुभयो । उहाँका अनुसार पालिकाबाट बसाइँ सरेर जाने र आउनेक्रम जारीछ ।
भौगोलिक हिसावले कर्णाली प्रदेशका १० जिल्लामध्ये सबैभन्दा सानो सल्यान र दोस्रो सानो जिल्ला दैलेख हो । जनसंख्या र मानव विकास सूचकांक हिसाबले सुर्खेतपछि दोस्रो हो यो जिल्ला । उत्पादकत्वका हिसाबले पनि राम्रै खेती हुने भएकोले आत्मनिर्भर जिल्ला हो ।
मुश्किलले चार हजार ४१६ हेक्टर क्षेत्रफलमा बाह्रै महिना सिँचाइ सुविधा पुग्छ, यो प्रतिशतका हिसावले १२ प्रतिशत मात्र हो । बाँकी जमिन आकाशे पानीको भरोसामा खेती हुन्छ । देशभरकै तेस्रो ठुलो कर्णाली नदी दैलेख भएरै बग्छ । लोहोरे, छामघाट र अरु साना खोलानाला गरी पानीका श्रोतहरु थुप्रै छन् ।
पानीका थुप्रै श्रोतहरु हुँदा पनि सिँचाइ योजना नगण्य मात्रामा छन् । दैलेखको क्षेत्र १५ सय ४ वर्ग किलोमीटर अर्थात एक लाख ५० हजार ५१ हेक्टर हो । त्यसमध्ये ४३ हजार १२१ हेक्टर खेतीयोग्य जमिनमध्ये ३४ हजार ४९७ हेक्टरमा खेती भइरहेको छ ।
खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय दैलेखले राखेको तथ्यांकअनुसार जम्मा चार हजार ४१६ हेक्टरमा बाह्रै महिना सिँचाइ हुन्छ । सिँचाइ आयोजनाहरु सकिंदै गर्दा यति क्षेत्रफलमा सिँचाइ पुगेको भनी लेखिएका तथ्यांक थपिंदै गर्दा चार हजार ४१६ हेक्टरमा बाह्रै महिना सिँचाइ पुगेको होला भनी अनुमान गरिएको छ । यो खबर गोरखापत्रबाट साभार गरिएको हो।


308 पटक हेरिएको 

