पाँच कार्यालयको उत्कृष्ट कार्यसम्पादनले खानेपानी विभागको प्रगति ८२% नाघ्यो

  वास खबर सम्बाददाता  1079 पटक हेरिएको

काठमाडौं : चालु आर्थिक वर्षको अन्त्यतिर आइपुग्दा खानेपानी विभागले ८२ प्रतिशत भन्दा माथिको वित्तीय प्रगति हासिल गरेको छ । विभाग अन्तर्गतका केही संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालयहरूको कम प्रगति देखिए पनि पाँच वटा कार्यालयको उत्कृष्ट कार्यसम्पादनले समग्र प्रगति दर उच्च देखिएको हो ।

यो प्रगति खानेपानी तथा ढल व्यस्थापन विभागको त्रिबर्षीया आंकडा हेर्दा सबैभन्दा उच्च हो । खानेपानी तथा ढल व्यवस्थापन विभागले आर्थिक बर्ष २०७९/०८० मा ८० प्रतिशत प्रगति हासिल गरेको थियो भने २०८०/०८१ मा विभागको प्रगति ६८.३९ प्रतिशतमा खुम्चिएको थियो । यद्यपि स्वयं खानेपानी विभाग र विभाग अन्तर्गतका अन्य केही आयोजनाहरुको वित्तिय तथा भौतिक प्रगति भने सार्वजनिक गरिसकेको छैन ।

विभागीय विवरण अनुसार म्याग्दी (९५.१४%), इलाम (९३.९२%), जुम्ला (९१.३६%), रामेछाप (९४.०९%) र अर्घाखाँची (९०.८६%) कार्यालयले ९० प्रतिशत भन्दा माथिको उल्लेखनीय प्रगति गरेका छन् । यी कार्यालयहरूको निरन्तरता, दक्षता र बजेट कार्यान्वयन क्षमताले विभागको समग्र वित्तीय प्रदर्शनलाई ८२ प्रतिशत पार गर्न सहयोग पुर्‍याएको हो ।

यद्यपि केही कार्यालयहरू जनकपुर (४६.३९%), सुर्खेत (६१.७६%), चितवन (६५.६२%), भक्तपुर (७९.३१%) र लमजुङ (७८.२८%) को प्रगति अझै सन्तोषजनक अवस्थामा पुग्न सकेको छैन । तथापि समग्र कार्यालयहरूको औसत प्रगतिमा अग्रणी कार्यालयहरूको बलियो योगदानका कारण विभागको कुल वित्तीय प्रगति उत्साहजनक देखिएको छ ।

“केही कार्यालयले कम प्रगति हासिल गरेपनि समग्रतामा हामीले ८२ प्रतिशत भन्दा माथि वित्तीय प्रगति गर्न सफल भएका छौं, जुन सकारात्मक कुरा हो” खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक ई.राम कुमार श्रेष्ठले भन्नुभयो। राम्रो नतिजा निकाल्न सफल कार्यालयहरुले आफ्नो कार्ययोजना समयमै कार्यान्वयन गर्नुका साथै बजेट उपयोगमा समेत दक्षता देखाएको विभागको भनाइ छ ।

खानेपानी सेवामा प्रभावकारिता ल्याउने उद्देश्यले चालु आर्थिक बर्षभर गरिएको योजना कार्यान्वयन र बजेट उपयोग सन्तुलित रहेको उहाँको भनाइ छ । ‘खानेपानी मन्त्रालय र खानेपानी विभागको नेतृत्वदायी भूमिका, स्थानीय तहसँगको सहकार्य, आयोजना प्रमुखहरुले योजना कार्यान्वयनमा देखाइएको सक्रियता र कर्मचारीको उचित व्यवस्थापनले समग्र प्रगतिमा सकारात्मक प्रभाव परेको महानिर्देशक श्रेष्ठले बताउनुभयो।

खानेपानीमन्त्री प्रदीप यादवको स्पष्ट निर्देशन, मार्गदर्शन तथा विभागको सक्रियता र प्रतिबद्धता कार्यान्वयनका कारण यो आर्थिक प्रगति सम्भव भएको खानेपानी मन्त्रालयले जनाएको छ ।

कुन आयोजना कार्यालयको प्रगति कति ?


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार