
जनकपुर : तराई मधेसको खानेपानी समस्या समाधानको बिषयमा मधेश प्रदेशको मुख्यमन्त्री सतिशकुमार सिंह र संघीय खानेपानी मन्त्रालय तथा खानेपानी विभाग बीचको बैठक चलिरहेको छ।
आज मात्रै मधेस प्रदेशका सरोकारवाला मन्त्रालय र दातृ निकायहरूसँग छलफल गरेको मुख्यमन्त्री सतिशकुमार सिंहले संघीय खानेपानी मन्त्रालय र खानेपानी विभागसँग बैठक आयोजना गर्नुभएको हो।
बैठकमा संघ सरकारको तर्फबाट खानेपानीमन्त्री प्रदीप यादव, खानेपानी मन्त्रालयका सचिव प्रमिलादेवी शाक्य बज्राचार्य र खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक ई.रामकुमार श्रेष्ठ सहभागी हुनुहुन्छ ।
मधेस प्रदेशका सरोकारवाला मन्त्रालय र दातृ निकायहरू सँग आज भएको बैठकमा मुख्यमन्त्री सिंहले ती समस्या समाधानका लागि सामूहिक प्रयास आवश्यक रहेको बताउनुभयो ।

उहाँले मौजुदा अवस्थामा प्रदेश सरकार तथा दातृ निकायहरूबाट गर्न सकिने तात्कालीन र दीर्घकालीन उपायहरू अवलम्बन गर्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “बैठक र निर्णय मात्र होइन के गर्न सकिन्छ तुरुन्तै सुरु गरौँ ।”
प्रदेशका सबै १३६ वटै पालिकामा सुक्खा र खानेपानीको समस्या रहेको बताउँदै उहाँले प्रदेशका नागरिक समस्यामा रहेका बेला सहयोग गर्न अग्रसरता देखाउनका लागि दातृ निकायका प्रतिनिधिहरूलाई आग्रह गर्नुभयो । “प्रदेशका नागरिक अहिले वातावरणीय असन्तुलनको प्रभावबाट सङ्कटमा रहेका बेला खुला हृदयले सहयोग गर्न दातृ निकायहरूलाई आग्रह गर्दछु”, उहाँले भन्नुभयो ।
बैठकमा प्रदेश सरकारका भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री जनार्दन सिंह क्षेत्री, गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखी र ऊर्जा, सिँचाइ तथा खानेपानीमन्त्री शेषनारायण यादवको समेत उपस्थिति रहेको थियो । यस्तै वर्तमान अवस्थावारे मन्त्रालयगत रूपमा तथ्याङ्क प्रस्तुत गरिएको थियो। बैठकमा दातृ निकायका प्रतिनिधिहरूले आवश्यक सहयोग गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गरेका थिए।


653 पटक हेरिएको 

