
जनकपुरधाम : खानेपानीमन्त्री प्रदीप यादव तथा मधेस प्रदेश सरकारका मुख्यमन्त्री सतिशकुमार सिंह बीच आज तराई–मधेसको खानेपानी समस्याको दीर्घकालीन समाधानका लागि छलफल भएको छ ।
आज मधेस प्रदेशको जनकपुरमा तराई–मधेसको खानेपानी समस्याको दीर्घकालीन समाधानका सम्बन्धमा मुख्यमन्त्री सिंह, प्रदेश उर्जा, सिंचाई तथा खानेपानीमन्त्री शेषनारायण यादव सहित सरोकारवालासँग छलफल गरिएको मन्त्री यादवको स्वकीय सचिवालयले जनाएको छ ।
छलफलमा मन्त्री यादवले जलवायु परिवर्तनका कारण उत्पन्न भएको सुक्खा समस्या र त्यसले उत्पन्न गरेको खानेपानीको सङ्कट दिनानुदिन गम्भीर बन्दै गएकाले उक्त समस्या समाधानका लागि आफु व्यक्तिगत तथा खानेपानी मन्त्रालय तर्फबाट पूर्ण सक्रिय रहेको जानकारी गराउनुभयो।
उहाँले भन्नुभयो, “तराई–मधेसको खानेपानीको दीर्घकालीन समाधानका लागि सबै तह र तप्का बीच समन्वय र सामूहिक प्रयास आवश्यक छ । समस्या समाधानका लागि म व्यक्तिगत रूपमा र खानेपानी मन्त्रालय संस्थागत रूपमा पूर्ण सक्रिय छ ।”
छलफलका क्रममा मुख्यमन्त्री सिंहले मधेस प्रदेशका १३६ वटै पालिकामा सुक्खा र खानेपानीको समस्या गहिरिँदै गएको जानकारी गराउनु भएको थियो । उहाँले प्रदेशका नागरिक समस्यामा रहेका बेला सहयोग गर्न अग्रसरता देखाउनका लागि दातृ निकायका प्रतिनिधिहरूलाई आग्रह समेत गर्नुभयो ।
उहाँले भन्नुभयो, “प्रदेशका नागरिक अहिले वातावरणीय असन्तुलनको प्रभावबाट खानेपानीको सङ्कटमा रहेका बेला खुला हृदयले सहयोग गर्न म दातृ निकायहरूलाई आग्रह गर्दछु ।”
छलफलमा संघीय खानेपानी मन्त्रालयका सचिव ई।प्रमिलादेवी शाक्य बज्राचार्य, खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक ई।रामकुमार श्रेष्ठ, संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय जनकपुरका आयोजना प्रमुख जगरनाथ दास लगायत विज्ञहरूको सहभागिता रहेको थियो ।


389 पटक हेरिएको 

