१६९ लिफ्टिङ खानेपानीलाई १ करोड ३३ लाख विद्युत महशुल अनुदान वितरण

  वास खबर सम्बाददाता  324 पटक हेरिएको
🔗
34
Shares

स्याङ्जा : डिभिजन खानेपानी तथा सरसफाई कार्यालय स्याङ्जाले आर्थिक वर्ष ०८१/८२ मा लिफ्टिङ खानेपानी योजनाको एक करोड ३३ लाख ६४ हजार ६५६ रुपियाँ विद्युत महशुल अनुदान दिएको छ ।

प्रदेश सरकारले लिफ्टिङ खानेपानीमा लाग्ने विद्युत महसुलमा अनुदान दिने नीति ल्याएसँगै यो कार्यालयले आफ्नो मातहतका स्याङ्जा र कास्कीका १६९ योजनालाई अनुदान दिएको हो ।

यस कार्यालयको मातहतमा रहेका स्याङ्जाका १३३ योजनाको ८६ लाख ७८ हजार ८४ रुपियाँ र कास्कीका ३६ योजनाको ४६ लाख ८६ हजार ५७२ रुपियाँ दिएको हो । लिफ्टिङ योजनाबाट कास्कीका १३ हजार ८०८ र स्याङ्जाका २१ हजार ९६४ गरी ३५ हजार ७७२ लाभान्वित भएका छन् ।

कार्यालयका प्रमुख हरिप्रसाद तिमिल्सिनाले लिफ्टिङ खानेपानी आयोजनामा विद्युत् महशुल अनुदान सम्बन्धी मापदण्ड २०७९ का आधारमा मासिक रुपमा २५ हजार रुपियाँसम्मको विद्युत खपत गर्ने लाभग्राहीलाई शतप्रतिशत अनुदान दिइएको हो ।

मासिक २५ हजारदेखि ४० हजार सम्मको महशुलमा ७५ प्रतिशत र मासिक रुपमा ४० हजारदेखि ६० हजारसम्मको विद्युत् खपतमा ५० प्रतिशत र मासिक रुपमा ६० हजारदेखि ८० हजारसम्ममा २५ प्रतिशत अनुदान प्राप्त गरेको तिमिल्सिनाले बताउनुभयो ।

यस्तै मासिक रुपमा ८० हजारभन्दा बढीको विद्युत खपत गर्ने योजनामा १० प्रतिशत अनुदान कार्यालयले उपलब्ध गराएको हो ।

तीन स्टेज वा सोभन्दा बढी स्टेजको हकमा भने ४० हजारसम्म ९० प्रतिशत, ६० हजारसम्म ६५ प्रतिशत, ८० हजारसम्म ४० प्रतिशत र ८० हजार बढीमा १५ प्रतिशत अनुदान दिइएको हो ।

सरसफाई कार्यालय स्याङ्जामा २४७ खानेपानी योजना रहेकोमा १० वटा पूर्ण रुपले निर्माण सकिएको हो । इन्जिनियर कमल बरालले यो आर्थिक वर्षमा सकिएका योजनाबाट एक हजार ५८६ योजना निर्माण सम्पन्न भएको र आठ हजार ८९ लाभान्वित भएको जानकारी दिनुभयो  ।

यहाँ प्रदेश सरकार बनेसँगै १६१ योजना पूर्ण रुपमा सम्पन्न भएको बताउँदै इन्जिनियर बरालले २३ हजार ४३ घरमा धारा निर्माण भएको र एक लाख १७ हजार ५१७ जिल्लाबासी लभान्वित भएका छन् ।

आर्थिक बर्ष  ०८१/८२ मा ९५ प्रतिशत वित्तिय प्रगति भएको र २३ करोड तीन लाख ४६ हजार रुपियाँ खर्च भएको बरालले बताउनु भएको खबर गोरखापत्रले प्रकाशन गरेको छ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार