वीरगन्जमा दैनिक ५ लाख लिटर पानी वितरण

  वास खबर सम्बाददाता  329 पटक हेरिएको
🔗
12
Shares

बीरगन्ज : वीरगन्ज महानगरपालिकाको कार्यालयले आफ्नो साधन स्रोतबाट दैनिक सरदर ४ लाख लिटर र मधेश प्रदेश सरकारले उपलब्ध गराएको ८ वटा बारुण यन्त्रबाट नेपाली सेनाले १ लाख लिटर पानी वितरण गरिरहेको जनाएको छ ।

वीरगन्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहको सचिवालयका अनुसार, महानगरको २ वटा बारुण यन्त्र, एक ट्र्यांकर र अन्य साधनसमेत गरी ८ वटा साधनबाट महानगरका विभिन्न वडाहरुमा गरी दैनिक ३ देखि ४ लाख लिटर पानी वितरण गरिएको छ । त्यसैगरी, जिल्ला प्रशासन कार्यालय मार्फत नेपाली सेनाको टोलीले महानगरका विभिन्न वडामा शुक्रबारदेखि पानी वितरण गरिरहेको छ।

पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालका अनुसार, प्रदेश सरकारबाट प्राप्त ८ वटा बारुणयन्त्र महानगरभरि परिचालन गरिएको छ । एउटा बारुणयन्त्रले ५ हजार लिटर पानी बोक्ने क्षमता हुन्छ । दैनिक कम्तीमा १ लाख लिटर पानी यसरी वितरण गर्ने गरिएको उनले बताए । बारुणयन्त्रलाई पानी संकलन गर्ने स्थान वीरगन्ज महानगरपालिकाको कार्यालयले उपलब्ध गराएको छ । पानी वितरण गर्दा सबै वडालाई समान प्राथमिकतामा राखिएको प्रजिअ अर्यालको भनाइ छ ।

झण्डै तीन सातादेखि वीरगन्ज महानगर र आसपासको क्षेत्र काकाकुल छ । चापाकलमा पानी आउन छोडेको छ । अधिकांश महानगरवासीले हालसम्म खानेपानी संस्थानको धारा जडान गरेकाले धेरैको घरमा खानेपानीको चरम अभाव भएको छ । पानीको अभावले सर्वसाधारणको दैनिकी नै प्रभावित भएको छ । कान्तिपुरबाट साभार गरिएको हो।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार