
काभ्रे : पछिल्लो समय काभ्रेका अधिकांश स्थानमा पानीको मुहान सुक्दै गएको छ । जिल्लाका १३ वटा स्थानीय तहमध्ये ७ वटा स्थानीय तहमा गरिएको सर्वेक्षणमा पानीको मूल र मुहान सुक्दै गएको देखिएको हो ।
बाढी, पहिरो, वन फँडानी, पूर्वाधार विकास, भूकम्प, जलवायु परिवर्तन लगायतका कारण पानीका मुहान सुक्दै गएका छन् । पानीको मुल र मुहान सुक्दै जाँदा स्थानीयले पानी खोज्दै टाढा–टाढा धाउनुपर्ने, वर्षाको पानी संकलन गर्नुपर्ने, बसाइँसराइ लगायतका समस्या झेल्दै आएका छन् ।
यी समस्यालाई मध्यनजर गर्दै काभ्रेका ७ वटा स्थानीय तहले पानीको मूल र मुहानको मूलाधार तथा जलाधार क्षेत्रको संरक्षण गर्न नीतिगत रुपमा छलफल गरेका छन् । काभ्रेको धुलिखेल नगरपालिका, पनौती नगरपालिका, पाँचखाल नगरपालिका, नमोबुद्ध नगरपालिका, बेथानचोक गाउँपालिका, रोशी गाउँपालिका र तेमाल गाउँपालिकाका जनप्रतिनिधिहरुले मूलाधार तथा जलाधार संरक्षण गर्ने विषयमा नीतिगत रुपमा छलफल गरेका हुन् ।
इन्टरनेसनल सेन्टर फर इन्टिग्रेटेड माउन्टेन (इसिमोड) ले आयोजना गरेको खानीपानीको मूल र मुहानको मूलाधार तथा जलाधार संरक्षणसम्बन्धी दुई दिने कार्यशालामा उक्त विषयमा छलफल गरिएको हो
छलफलमा पानीको मुहानको अवस्था, मुहानमा देखिएको समस्या, मुहान सुक्दै जानुको कारण, समस्या समाधान गर्न गरिने नीतिगत पहलका विषयलाई प्राथमिकतामा राखिएको थियो । असोज दोस्रो साता आएको बाढी, पहिरोजस्ता विपदले खानेपानीको मुहानमा धेरै क्षति पुर्याएकाले खानेपानीको अभावले विभिन्न समस्या देखिएको जनप्रतिनिधिहरुले बताएका छन् ।
सोहीअनुरुप पालिकाले पनि नीति तथा कार्यक्रममा उक्त विषयलाई विशेष प्राथमिकतामा राखिएको उनीहरुले बताएको खबर कान्तिपुर दैनिकले प्रकाशित गरेको छ ।


434 पटक हेरिएको 

