
काठमाडौ : काठमाडौँ महानगरपालिकाले बर्खामा पानीजन्य जोखिम घटाउन पिउने पानी उत्पादन, ढुवानी तथा वितरण प्रणालीमा नियमित अनुगमन गरिरहेको छ । कामपाले यही असारमा गरेको अनुगमनका क्रममा एक सय ५९ पिउने पानी बोकेको जार नष्ट गरेको हो ।
अनुगमनका क्रममा कामपाले पानी भित्र्याउने विभिन्न नाकामा टोली परिचालन गरी सहरवासीलाई पिउने पानीको आवश्यकता पूरा गराउन प्रशोधित पानीको सेवा दिने व्यवसायीका सवारीसाधन, पिउने पानीको जारको नियमित अनुगमन गरेको जनाएको छ ।
अनुगमनका क्रममा मापदण्डविपरीत भेटिएका जारलाई कामपाले अनुगमनकै क्रममा नष्ट गरेको कामपाका कृषि तथा पशुपन्छी विभागका प्रमुख नुरनिधि न्यौपानेले जानकारी दिनुभयो ।
अनुगमनका क्रममा कुच्चिएका, फुटेका र भित्रको पानी नदेखिने अपारदर्शी जार भेटिने गरेको र उक्त जारहरू नष्ट गर्ने गरिएको प्रमुख नौपानेले जानकारी दिनुभयो ।
अनुगमनका क्रममा त्रुटि पाइएका पानी उत्पादक कम्पनीलाई मापदण्डविपरीत प्रशोधित पिउने पानीका जार बिक्री वितरण नगर्न, जारमा स्पष्ट विवरण खुलेको लेबल राख्न, कम्पनीले जारी गरेको बिलबिजक गाडीमै लिएर हिँड्न निर्देशन दिइएको पनि न्यौपाने जानकारी दिनुभयो ।
त्यस्तै कामपाले हैजा रोग नियन्त्रणका लागि समुदाय तहमा पुगेर नागरिकले पिउने पानीको नमुना परीक्षण गर्ने तायरीसमेत गरेको छ । पानीको नमूना परीक्षणसँगै कामपाको प्रत्येक वडामा अभिमुखीकरण कार्यक्रम गर्न सुरू गर्ने तयारी गरेको कामपा महामारी रोग रोकथाम तथा नियन्त्रणका लागि फोकल पर्सन ऋषि भुसालले जानकारी दिनुभयो ।
भुषालका अनुसार विगतको वर्षमा भन्दा यस वर्ष मनसुन छिट्टै भित्रिएको र नियमित जस्तै पानी परिरहेकाले हैजाका बिरामी बढ्न सक्ने अनुमान गर्दै कामपाले नियन्त्रणका लागि काम थालनी गर्न लागेको हो । विगतका वर्षहरूमा बल्खु, कालीमाटी, टङ्केश्वर क्षेत्रमा हैजाका बिरामी भेटिएका भनाइ छ ।
के हो हैजा
दूषित पानीबाट सर्ने धेरै ब्याक्टेरियाजन्य रोगमध्ये एक हो हैजा । पिउने पानी र खानेकुरा नै हैजाको प्रमुख कारण मानिन्छ । व्यक्तिगत वा वरपरको सरसफाइमा ध्यान नदिनु र लक्षण नदेखिएका सङ्क्रमितसँग सम्पर्कमा आउनुले समेत मानिसमा यो रोग सार्ने गर्दछ ।
हैजाका लक्षणहरू
निरन्तर पातलो दिसा लाग्नु, पटकपटक बान्ता आउने, पेट वा खुट्टाको मांसपेशी बाउँडिने, छाला चाउरी पर्न थाल्ने, आँखा गाडिनुका साथै मुख सुक्खा हुनु, रक्तचाप कम हुनु, धेरै पसिना आउने, रिङ्गटा लाग्ने खबर गोरखापत्रले प्रकाशन गरेको छ।


290 पटक हेरिएको 

