वीरगन्ज महानगरमा दैनिक एक करोड लिटरभन्दा बढी पानी वितरण

  वास खबर सम्बाददाता  284 पटक हेरिएको
🔗
15
Shares

पर्सा : खानेपानीको चरम अभाव झेलिरहेको वीरगन्ज महानगरपालिकामा दैनिक एक करोड लिटरभन्दा बढी पानी आपूर्ति हुन थालेको छ । नेपाल खानेपानी संस्थान वीरगन्ज शाखाको नगवास्थित पम्प स्टेसनबाट डिप बोरिङ यसै साता सञ्चालनमा आएपछि महानगरमा करिब २० लाख लिटर पानीको थप व्यवस्था भएको हो । शाखाका इन्जिनियर एवम् सूचना अधिकृत सञ्जिव यादवका अनुसार, हालै सञ्चालनमा आएको उक्त डिप वेलबाट दैनिक २० लाख लिटर पानी प्राप्त भइरहेको छ ।

‘यसअघि शाखाले दैनिक ८० लाख लिटर पानी वितरण गरिरहेकोमा नयाँ बोरिङ सञ्चालनमा आएपछि खानेपानीको धाराबाट मात्र एक करोड लिटर दैनिक पानी वितरण गरिरहेका छौं,’ उहाँले भन्नुभयो ‘नयाँ थपिएको डिप वेलबाट प्रति मिनेट ३ हजार लिटर पानी प्राप्त भइरहेको छ ।’ यो डिप वेलबाट यसभन्दा पनि बढी पानी आउने क्षमता भएपनि तत्काल महानगरको पानीको माग र आपूर्तिको तालमेल मिलाउन एक करोड लिटर मात्र पानी धाराबाट वितरण गरिरहेको उहाँले बताउनुभयो।

सातायता बिस्तारै ट्यांकीको पानीको माग घट्दो क्रममा रहेको इन्जिनियर यादवले बताउनुभयो । ‘साता अघिसम्म शाखाको दुई वटा ट्यांकरले मात्र दैनिक ५० हजार लिटर पानी महानगरको विभिन्न वडामा वितरण गर्दै आएको थियो,’ उहाँले भन्नुभयो ‘हाल दैनिक एउटा ट्यांकरले मात्र पानी वितरण गरिरहेको छ, ट्यांकरको पानीको माग गर्दै फोन कल आउन पनि अब बन्द भएको छ ।’

शाखा बाहेक वीरगन्ज महानगरको दुई वटा, प्रदेश सरकारबाट प्राप्त भएको ८ वटा, डिभिजन वन कार्यालयको एउटा समेत गरी करिब एक दर्जन ट्यांकरले हाल पानी वितरण गरिरहेका छन् । सबै ट्यांकरले पाँच लाख लिटर पानी वितरण गरिरहेको उहाँले बताउनुभयो।

पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले पनि हाल महानगरमा ट्यांकरको पानीको माग घटेको बताउनुभयो। उहाँले पानी वितरणमा सहजीकरण गर्दै आएको नेपाली सेनाले पनि ट्यांकरको पानीको माग घटेको सूचना दिएको बताउनुभयो।

हाल युनिसेफ र भोलिन्टियर क्रप्स नेपाल लगायतका संस्थाले प्रभावित क्षेत्रमा ट्यांकी स्थापनामा जिल्ला विपद् व्यवस्थापन समितिसँग सहकार्य गरिरहेकाले सहज भएको पनि उहाँले बताउनुभयो। जिल्लाभरि खानेपानीको संकट रहेका पालिकामा खानेपानी र त्यसपछि सिँचाइको वैकल्पिक व्यवस्थाको खोजीको कार्यलाई पनि तीव्रता दिइएको उहाँले बताउनुभएको खबर कान्तिपुरले प्रकाशन गरेको छ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार