
हेटौंडा : हेटौंडा उपमहानगरपालिकाको वडा नं. ११ मा खानेपानी आपूर्ति गरिरहेका विभिन्न खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाहरु मध्ये २ वटा खानेपानी उपभोक्ता संस्थाद्वारा सञ्चालित खानेपानी आयोजनाको विभिन्न संरचनाको अनुगमन गरिएको छ ।
हेटौंडा उपमहानगरपालिकाका मेयर मीना कुमारी लामा सहितको टीम र खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ नेपाल (फेडवासन) को टोलीद्वारा जिम्बाडाँडा तथा तल्लोताल खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था र दुई बस्ती पिउने पानी व्यवस्थापन समितिद्वारा सञ्चालित खानेपानीका संरचनाहरुको संयुक्त अनुगमन गरिएको हो ।
नगरपालिका भित्र बसोबास गर्ने विशेष गरी निम्न बर्ग,कमजोर आर्थिक अवस्था भएका, सीमान्तकृत समुदायको संलग्नतालाई औपचारिक रुपमा समावेश गर्न विद्यमान समस्याहरुको पहिचान गरी व्यवहारिक सिफारिस प्रदान गर्ने उद्देश्यले अनुगमन गरिएको खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ नेपाल (फेडवासन) का राष्ट्रिय अध्यक्ष राजेन्द्र अर्यालले जानकारी गराउनुभयो।

छलफलको शुरुमा उपमहानगरपालिकाको वडा नं. ११ स्थित सिमलटार टोल विकास संस्थाका पदाधिकारीहरु सँग छलफल गरिएको थियो। समुदायको आधारभूत खानेपानी आपूर्ति प्रणालीमा पहुँच भएको नभएको, खानेपानी भरपर्दो र नियमित तालिका अनुसार पर्याप्त मात्रामा आपूर्ति भए नभएको, खानेपानी शुद्धिकरण गरिएको वा सुरक्षित भए नभएको बिषयमा छलफल गरिएको थियो ।
यस्तै सार्वजनिक र घरायसी शौचालयहरुमा पहुँच भए नभएको, महिला अपाङ्गता भएका व्यक्ति र विपन्न वर्गको लागि पहुँचयोग्य शौचालय र सुरक्षित सरसफाइमा पहुँच भए नभएको जस्ता जस्ता बिषयमा पनि समुदायसँग छलफल गरिएको थियो ।

छलफलमा सिमलटार टोल विकास संस्थाका अध्यक्ष देव कृष्ण थोकरले टोइलेट र धारा सँगसँगै हुँदा खानेपानी प्रदुषण हुने उच्च सम्भावना रहेको बताउनुभयो। ‘जहाँ टोइलेट छ, त्यही धारा छ, यसले गर्दा खानेपानीजन्य रोगहरु लाग्ने जोखिम धेरै छ, यो समस्या समाधानका लागि नगरपालिकाले हेटौंडा खानेपानी व्यवस्थापन बोर्ड मार्फत धारा जडानको काम गरिरहेको छ, टोलका सबै घरधुरीहरुले धमाधम धारा जडान पनि गरिरहेका छन्’ उहाँले भन्नुभयो।
निम्न वर्गको लागि खानेपानी निःशुल्क : नगर प्रमुख लामा

सिमलटार टोल विकास संस्थामा गरिएको छलफलमा हेटौंडा उपमहानगरपालिकाका नगर प्रमुख मीना कुमारी लामाले निम्न वर्गका लागि खानेपानी निःशुल्क हुनुपर्ने बताउनुभयो । उहाँले यसैका लागि न्यूनतम १० हजार लिटर मात्र पानी खपत गर्ने घरपरिवारलाई उपमहानगरपालिकाले अनुदान दिर्दै आएको र यस्तो परिवारको संख्या ८ हजार रहेको बताउनभयो। १० हजार लिटर मात्र खानेपानी उपभोग गर्ने घरपरिवारले तिर्नुपर्ने मासिक ८५ रुपैयाँ हेटौंडा उपमहानगरपालिकाले हेटौंडा खानेपानी व्यवस्थापन बोर्डलाई अनुदान उपलब्ध गराउँदै आएको छ ।

कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका विज्ञ सल्लाहकार डा.कृष्ण प्रसाद धितालले वडा नंं. ११ को थानाभर्याङ सिमलटार क्षेत्रमा प्रदेश सरकार, हेटौंडा उपमहानगरपालिका र हेटौंडा खानेपानी व्यवस्थापन बोर्डको सहकार्यमा करिब ६ करोडको लागतमा ४ लाख ५० हजार लिटर क्षमताको सम्पवेल -२ थान र विद्युतीकरणको कार्य र २० किलोमिटर मेनपाइप लाईन बिस्तार कार्य सम्पन्न भई सकेको जानकारी गराउनुभयो ।

उहाँले चालू आर्थिक बर्षमा शाखा पाइप लाईन विस्तारको कार्य भई रहेको बताउनुभयो। ‘सबै घरमा धारा जडान भएपछि नगरपालिकाको नियम बमोजिम १० हजार लिटर भन्दा कम खानेपानी प्रयोग गर्ने घरधुरीले निःशुल्क खानेपानी उपभोग गर्न पाउने बताउनुभयो।
कार्यक्रममा वडा नं. ११ का वडाध्यक्ष जुना दाहालले धारा जडानको काम धमाधम भैरहेको बताउनुभयो। उहाँले ठूलो टोल विकास संस्था भएकाले टोलको आधा भागले हेटौंडा खानेपानी व्यवस्थापन बोर्डबाट उपलब्ध गराएको उपभोग गरिरहेको र आधा भागलाई ४ वटा खानेपानी उपभोक्ता संस्थाहरुले खानेपानी आपूर्ति गरिरहेको बताउनुभयो। उहाँका अनुसार सिमलटार टोल विकास संस्थामा करिब २१ सय घरधुरी छन् । ती मध्ये चालु आर्थिक बर्षमा ५ सय घरधुरीमा खानेपानीको धारा जडान गर्ने लक्ष्य रहेको बताउनुभयो।

कार्यक्रममा दुईवस्ती पिउने पानी व्यवस्थापन समितिका अध्यक्ष देव कुमार श्रेष्ठले ४ वटा खानेपानी उपभोक्ता संस्थाहरु एक अर्कामा गााभेर एउटै समिति बनाउने बिषयमा सैद्धान्तिक सहमति भैसकेको र मर्जरको प्रक्रियामा जान मात्र बाँकी रहेको बताउनुभयो । उहाँले चार वटै खानेपानी उपभोक्ता संस्थाहरुको एकीकृत समिति बनाउन गृहकार्य भैसकेको पनि बताउनुभयो।
उहाँले शौचालयको असुरक्षित सेप्टिक ट्याङ्कले भूमिगत खानेपानी प्रदुषित बनाउने भएकाले रिङ हाल्न दिन नहुने बताउनुभयो ।
अनुगमन टोलीले जिम्बाडाँडा तथा तल्लोताल खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था र दुई बस्ती पिउने पानी व्यवस्थापन समितिद्वारा सञ्चालित खानेपानीको रिजर्भ्वायर, प्रशोधन प्रणाली र वितरण प्रणालीको समेत अनुगमन गरेको छ ।

Freshwater Action Network South Asia (FANSA) को आर्थिक सहयोगमा संचालित Rising for Rights for Strengthening Civil Society Network in South Asia to Achieve SDG 6 परियोजना अन्तर्गत गरिएको अनुगमन पछि आयोजित सामाजिक लेखा परिक्षण सम्बन्धी अनुशिक्षण कार्यक्रममा खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघका राष्ट्रिय अध्यक्ष राजेन्द्र अर्यालले हेटौंडा खानेपानी व्यवस्थापन बोर्ड अन्तर्गतका उपभोक्तालाई मात्र नभई उपभोक्ता संस्था मार्फत खानेपानी उपभोग गर्ने घरपरिवारलाई समेत नगरपालिकाले दिईने अनुदान उपलब्ध गराउन अनुरोध गर्नुभयो।
कार्यक्रममा जिम्बाडाँडा तथा तल्लोताल खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था र दुई बस्ती पिउने पानी व्यवस्थापन समितिका पदाधिकारीहरुले खानेपानी उपभोक्ता संस्था प्रति समुदायले चासो दिन छाडेको र साना साना कुरामा पनि उपभोक्ता संस्थाको भर पर्न थालेको बताए ।

उपभोक्ता संस्था प्रतिको कम चासोका कारण बार्षिक साधारण सभामा गणपूरक संख्या नपुगेर घरघरमा पुगेर हस्ताक्षर गराउनुपर्ने अवस्था सिर्जना भएको खानेपानी तथा सरसफाइ उपभोक्ता हेटौंडा नगर महासंघका अध्यक्ष भीमा गुरागाईले बताउनुभयो ।
कार्यक्रमको सभापति समेत रहेका खानेपानी तथा सरसफाइ उपभोक्ता जिल्ला महासंघका अध्यक्ष कृष्ण बहादुर राईले खानेपानी उपभोक्ता संस्थाका पदाधिकारी तथा उपभोक्ता समिति सदस्यहरु निश्क्रिय भएमा खानेपानीको सुचारुपना हुन नसक्ने बताउनुभयो ।

अनुगमन सँग सम्बन्धित थप फोटाहरु :






392 पटक हेरिएको 

