
विश्वप्रसिद्ध युट्युबरहरू जिमी डोनाल्डसन (MrBeast) र मार्क रोबरले अन्तर्राष्ट्रिय गैरसरकारी संस्था वाटरएडको सहकार्यमा #TeamWater अभियान सुरु गरेका छन्। २० लाखभन्दा बढी मानिसलाई स्वच्छ र सुरक्षित पिउने पानी उपलब्ध गराउन कोष संकलन गर्ने उद्देश्यले अभियानको सुरुवात गरिएको हो । अभियान अन्तर्गत साउन महिनाको अन्त्य (अगस्ट ३१) भित्र ४० मिलियन डलर संकलन गर्ने महत्वाकांक्षी योजना राखेको छ।
MrBeast र Mark Rober ले संयुक्त विज्ञप्तिमा भनेका छन्, “हामीले देखिसकेका छौं, जब इन्टरनेट एकजुट हुन्छ, हामीले लाखौं रुख रोप्यौं, समुद्रबाट लाखौं पाउण्ड फोहोर सफा गर्यौं। अब समय आएको छ, ती समुदायलाई स्वच्छ पानी पुर्याउने । जसको यो आधारभूत मानव अधिकार अझै पूरा भएको छैन।”
#TeamWater उनीहरूको अघिल्ला सफल अभियानहरू #TeamTrees (२०१९) र #TeamSeas (२०२१) को निरन्तरता हो, जसले संयुक्त रूपमा ५० मिलियन डलरभन्दा बढी संकलन गरेर लाखौं रूख रोप्न र समुद्री फोहोर हटाउन योगदान पुर्याएका थिए।
यो नयाँ अभियानले ८४ भन्दा बढी देशका सामग्री निर्माता (content creators) को सहभागिता सहित विश्वभरका २ अर्बभन्दा बढी सदस्यहरूलाई समेट्ने लक्ष्य लिएको छ। युट्युब भिडियो, लाइभ स्ट्रिम, र डिजिटल सामग्रीहरूमार्फत आम दर्शकलाई यो अभियानमा संलग्न गराउने र प्रत्येक डलर प्रत्यक्ष रूपमा दीगो जल परियोजनाहरू, जस्तै सौर्य ऊर्जाबाट सञ्चालित बोरहोल, गुरुत्वाकर्षणबाट सञ्चालित पाइपलाइन, वर्षा पानी सङ्कलन प्रणाली, र सामुदायिक धारामा लगानी गरिनेछ।
WaterAid, जसले ४० वर्षभन्दा बढी समयदेखि विश्वका विकट, ग्रामीण, र पहुँचविहीन क्षेत्रहरूमा पानी, सरसफाइ र स्वच्छता (WASH) सम्बन्धी परियोजना सञ्चालन गर्दै आएको छ । जसले यो अभियानमा कार्यान्वयनको जिम्मेवारी लिएको छ। अभियानका परियोजनाहरू कोलम्बियाका शुष्क मरुभूमि क्षेत्रदेखि बङ्गलादेशका मैङ्ग्रोभ जंगलसम्म फैलिनेछन्, जहाँ समुदायहरू हरेक दिन सुरक्षित पानीको अभाव झेलिरहेका छन्।

WaterAid अमेरिका की CEO केली पार्सन्सले भनिन्, “विश्वका सबैभन्दा प्रभावशाली सामग्री निर्माताहरूको शक्ति र वाटरएडको दीर्घ अनुभवलाई एकसाथ ल्याएर हामीले यो समाधानयोग्य चुनौती—वैश्विक जल संकट—लाई सम्बोधन गर्दैछौं। संकलित प्रत्येक डलरले दीगो र दीर्घकालीन समाधानमा सहयोग पुर्याउनेछ।”
विश्व स्वास्थ्य संगठनका अनुसार, आज पनि ७०३ मिलियनभन्दा बढी मानिसहरू घरमै सुरक्षित पिउने पानीबाट वञ्चित छन्। #TeamWater अभियानले रकम संकलन मात्र होइन, युवाहरूलाई प्रेरणा दिने, जनचेतना फैलाउने, र स्वच्छ पानीको सवाललाई विश्वव्यापी प्राथमिकताको रूपमा स्थापित गर्ने लक्ष्य राखेको छ।
अभियानको औपचारिक उद्घाटन भिडियो अहिले MrBeast र Mark Rober को युट्युब च्यानलहरूमा उपलब्ध छ। यस भिडियोमार्फत उनीहरूले अभियानको दृष्टिकोण प्रस्तुत गर्दै सम्पूर्ण विश्वलाई अभियानमा सहभागी हुन आह्वान गरेका छन्।
थप जानकारी लिन, सहभागी हुन वा दान गर्न चाहनुहुन्छ भने: www.teamwater.org मा जानुहोस्।



460 पटक हेरिएको 

