
चन्द्रपुर : खानेपानी तथा ढल व्यवस्थापन कार्यालय बीरगन्जले रौतहटको तीन वटा नगरपालिकामा डिप बोरिङ गर्न सुरु गरेको छ । अत्यधिक खडेरीका कारण उत्पन्न भएको पानीको सङ्कट समाधान गर्न रौतहटको मौलापुर, बौधीमाई र पर्रोहा नगरपालिकामा डिप बोरिङ गर्न सुरु गरेको हो ।
खानेपानी तथा ढल व्यवस्थापन कार्यालय वीरगन्जका कार्यालय प्रमुख विपुल कुमार लाल दासका अनुसार पहिलो चरणमा मौलापुर नगरपालिकामा विद्युतीय मोटर सहितको डिप बोरिङ जडान कार्य अगाडि बढाइएको छ ।
स्वच्छ खानेपानी उपलब्ध गराउन सङ्घीय सरकारले रौतहटको मौलापुरलाई विशेष प्राथमिकतामा राखेर काम गरिरहेको कार्यालयका प्रमुख सिडिई बिपुल कुमारलाल दासले जानकारी दिनुभयो । मौलापुर नगरपालिकाभित्र विभिन्न ठाउँमा नौ वटा डिप बोरिङ जडान गर्ने लक्ष्य रहेको उहाँले बताउनुभयो ।
मौलापुर नगरपालिकामा जडान सके लगत्तै बौधीमाई नगरपालिका र पर्राेहा नगरपालिकामा जडान कार्य सुरु गरिने उहाँले जानकारी दिनुभयो । रौतहटको ईशनाथ नगरपालिका र देवाही गोनाही नगरपालिकाबाट समेत डिप बोरिङ जडानका लागि माग आए पनि कार्यालयलाई मौलापुर, बौधीमाई र पर्रोहा नगरपालिकाका लागि मात्र बजेट उपलब्ध रहेको सिडिई दासले जानकारी दिनुभयो ।


380 पटक हेरिएको 

