
पश्चिम नवलपरासी : बर्दघाट खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले स्थानीय आमा समूहसँग खानेपानी सुरक्षा योजना सम्बन्धी अन्तरक्रिया तथा सचेतना कार्यक्रम आयोजना गरेको छ । उपभोक्ता संस्था अन्तर्गतको खानेपानी सुरक्षा योजना समिति आयोजनामा आमा समूहका सदस्यहरुका लागि खानेपानी सुरक्षा योजना सम्बन्धी अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको हो।
संस्थाका उपाध्यक्ष तथा खानेपानी सुरक्षा योजना समिति संयोजक कमल थापाको अध्यक्षता र संस्थाका अध्यक्ष दिपक लम्सालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा अध्यक्ष लम्सालले संस्थाले हाल बर्दघाट नगरपालिका–४ मा सार्वजनिक धारा बाहेक ४,२०१ वटा घरधारा वितरण गरी ‘एक घर, एक धारा’ अभियानलाई पूर्णता दिएको जानकारी दिनुभयो। उहाँका अनुसार संस्थाले ९२ किलोमिटर पाइपलाइन विस्तार गरेको छ।
लम्सालले आवश्यक स्थानमा सार्वजनिक धारा जडान, सरसफाई क्षेत्रमा उल्लेखनीय योगदान र प्रविधिमैत्री कार्यप्रणाली अपनाएको उल्लेख गर्दै हाल संस्थामा संघीय, प्रदेश, स्थानीय सरकार तथा उपभोक्ताको सहयोगमा ४ करोड ७२ लाख रुपैयाँ मौज्दात रहेको जानकारी दिनुभयो।
कार्यक्रमका विशेष अतिथि तथा बर्दघाट नगरपालिकाको खानेपानी, सरसफाई तथा स्वच्छता शाखाका प्रमुख कृष्णहरि पौडेलले बर्दघाटका १२ खानेपानी संस्था मध्ये यस संस्थालाई सफल र नमुना संस्था भन्दै नियमित पानी परीक्षण गरेर मात्र उपभोक्तासम्म पुर्याउँदै आएकोले ढुक्क भएर प्रयोग गर्न आग्रह गर्नुभयो।
संस्थाका व्यवस्थापक विष्णु भुसालले विगत र वर्तमानका गतिविधि प्रस्तुत गर्दै ८० लाख ८७ हजार रुपैयाँको प्रारम्भिक पूँजीबाट सुरु भएको संस्थाले हाल १८ हजार जनसंख्यालाई प्रत्यक्ष लाभ पुर्याएको बताउनुभयो। उहाँका अनुसार संस्थाले वार्षिक १ करोड २५ लाख बराबरको पानी वितरण गर्दै आएको छ, जसका लागि दुई मुहान स्रोत र तीन वटा डिप बोरिङ सञ्चालनमा छन्।
स्थानीय आमा समूहको तर्फबाट लक्ष्मीनगर आमा समूहकी अध्यक्ष बिष्णु पुरी गिरिले स्वच्छ पानीलाई स्वास्थ्य जीवनको आधार बताउँदै संस्थाले हरियालीका लागि वृक्षारोपण र सरसफाई अभियानमा गरेको योगदानको प्रशंसा गर्नुभयो। उहाँले आगामी दिनमा पनि यस्तै सकारात्मक कार्य निरन्तर गर्न आग्रह गर्नुभयो।
समितिका संयोजक थापाले सुरक्षित पानीकै अभावमा ९० प्रतिशत रोग लाग्ने सम्भावना हुने बताउँदै संस्थाले सुरक्षित पानी वितरणलाई आफ्नो दायित्वका रूपमा लिएको र सरोकारवालासँग नियमित अन्तरक्रिया तथा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिनुभयो।
कार्यक्रममा संस्थाकी कोषाध्यक्ष राधादेवी अधिकारी, लक्ष्मीनगर टोल विकास संस्थाका अध्यक्ष कृष्ण न्यौपानेसहित आमा समूहका सदस्यहरूले सुझाव र जिज्ञासा प्रस्तुत गरेका थिए।


288 पटक हेरिएको 

