
काठमाडौ : खानेपानी तथा ढल व्यवस्थापन विभागको उपमहानिर्देशकमा सहसचिव ई.नारायण प्रसाद आचार्य नियुक्त हुनु भएको छ । यही साउन २३ गतेको खानेपानी मन्त्रीस्तरीय निर्णय बमोजिम सहसचिव आचार्य खानेपानी विभागको उपमहानिर्देशकमा नियुक्त हुनु भएको हो ।
यस अघिका उपमहानिर्देशक रामचन्द्र काफ्लेले निजामति सेवा ऐन बमोजिम उमेर हद पूरा गरी अनिवार्य अवकाश पाए पछि उपमहानिर्देशक पद रिक्त थियो।
सरकारले खानेपानी मन्त्रालय र अन्तर्गतको निकायहरुको संगठन संरचना र दरबन्दी तेरिज स्वीकृत गरेपछि खानेपानी विभागमा तीन जना उप महानिर्देशकको दरबन्दी रहेको छ।
नयाँ संरचना अनुसार एक जना उपमहानिर्देशकले खानेपानी महाशाखा अर्का उपमहानिर्देशकले ढल तथा सरसफाइ व्यवस्थापन महाशाखा र तेस्रो उपमहानिर्देशकले सेवा नियमन तथा समन्वय महाशाखाको नेतृत्व गर्नुहुन्छ। यस अघि उपमहानिर्देशक जक्की अहमद अन्सारीले पनि अनिवार्य अवकाश लिए सँगै रिक्त पदमा सहसचिव राजेन्द्र सापकोटा नियुक्त भैसक्नु भएको छ।
नव नियुक्त उपमहानिर्देशक आचार्यले सेवा नियमन तथा समन्वय महाशाखाको जिम्मेवारी सम्हाल्नु भएको छ। यस अघि उहाँ सहलगानी खानेपानी तथा सरसफाइ आयोजनाको आयोजना निर्देशक हुनुहुन्थ्यो । उहाँसँग खानेपानी मन्त्रालयमा खानेपानी शाखा प्रमुख, खानेपानी तथा ढल व्यवस्थापन विभाग अन्तर्गत खानेपानी गुणस्तर तथा सेवा नियमन शाखाको प्रमुख, तेस्रो साना सहरी खानेपानी तथा सरसफाइ आयोजना कार्यालयमा उप आयोजना निर्देशक भएर कुशलतापूर्वक जिम्मेवारी पूरा गरेको अनुभव छ ।
२०५४ सालमा निजामती सेवामा प्रवेश गर्नु भएका आचार्य सँग तत्कालीन दुर्गम क्षेत्र विकास समितिमा डोल्पा र मनाङ जिल्लामा सेवा गरेको अनुभव छ । यस्तै तत्कालीन खानेपानी तथा ढल निकास विभाग अन्तर्गत खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय डडेलधुरा, गोरखा लगायत जिल्लाको प्रमुख भएर जिम्मेवारी सम्हालेको अनुभव रहेको छ भने उहाँले तत्कालीन जिल्ला प्राविधिक कार्यालय सोलुखुम्बु, स्याङ्जा, कास्की, अछाम, भक्तपुर लगायत जिल्लामा पनि सेवा गरिसक्नु भएको छ।
उहाँले सोमबार नै उपमहानिर्देशकको जिम्मेवारी सम्हाल्नु भएको छ । नव नियुक्त उपमहानिर्देशक आचार्यलाई खानेपानी तथा ढल व्यवस्थापन विभागमा महानिर्देशक ई.राम कुमार श्रेष्ठ सहित विभागमा कार्यरत विभागीय प्रमुख तथा अन्य कर्मचारीले स्वागत एवं शुभकामना व्यक्त गरेका थिए ।


777 पटक हेरिएको 

