
जनकपुर : मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहसँग भारतको जलशक्ति मन्त्रालयका प्राविधिक विज्ञको ३ सदस्यीय प्रतिनिधिमण्डलले आज बिहानै भेटघाट गरेका छन्।
भारतको जलशक्ति मन्त्रालयका प्राविधिक विज्ञहरू आशिष पाण्डे, जगदम्बा प्रसाद र प्रसान्त राय संलग्न रहेको भारतीय प्रतिनिधिमण्डलले भूमिगत पानीको अवस्थाको विस्तृत मूल्यांकन गर्न तथा पानीको अभाव समाधानका उपाय र सुझाव दिने योजना प्रस्तुत गरेको छ । उक्त छलफलमा नेपाल सरकारको तर्फबाट खानेपानी तथा ढल व्यवस्थापन विभागका उपमहानिर्देशक नारायण प्रसाद आचार्य, खानेपानी तथा ढल व्यवस्थापन कार्यालय जनकपुरका कार्यालय प्रमुख जगरनाथ दास र खानेपानी तथा ढल व्यवस्थापन कार्यालय बीरगन्जका प्रमुख विपुल कुमार दास लगायत प्राविधिकहरु सहभागी हुनुुहुन्थ्यो ।

टोलीले आगामी दिनमा मधेश प्रदेशका विभिन्न जिल्लाको भ्रमण गरी भूमिगत पानीको अवस्था सम्बन्धी आवश्यक अनुसन्धान गर्नेछ । भारतीय प्रतिनिधिमण्डलको टोलीलाई आवश्यक समन्वयका लागि नेपालको तर्फबाट खानेपानी तथा ढल व्यवस्थापन विभागमा उपमहानिर्देशक नारायण प्रसाद आचार्यको टोली पनि खटिनु भएको छ।
मुख्यमन्त्री सिंहले प्रतिनिधिमण्डलको अनुसन्धान तथा सुझावले प्रदेशमा दिगो पानी व्यवस्थापन र भूमिगत पानीको संरक्षणमा महत्त्वपूर्ण योगदान पुर्याउने बताउनुभयो।
भारतीय प्रतिनिधिमण्डलले यस अघि संघीय खानेपानी मन्त्री प्रदीप यादवसँग पनि भेटघाट गरी मधेस प्रदेशमा देखिएको खानेपानी समस्या र समाधानका उपायका बिषयमा छलफल गरिसकेको छ ।



376 पटक हेरिएको 

