भारतको विज्ञ टोली तराई मधेसको खानेपानी समस्याको अध्ययन गरेर फर्कियो, मन्त्रालयमा खानेपानीमन्त्री सहित वास विज्ञहरुसँग छलफल

  वास खबर सम्बाददाता  442 पटक हेरिएको
🔗
35
Shares

काठमाडौ : खानेपानीमन्त्री प्रदीप यादव तथा भारत सरकारका विज्ञ टोलीहरूबीच तराई–मधेसको खानेपानीको दीर्घकालिन रुपमा समस्या समाधानका विषयमा गहन छलफल सम्पन्न भएको छ ।

आज खानेपानी मन्त्रालयमा मधेश प्रदेशमा देखिएको गम्भीर खानेपानी संकटको समाधानका लागि स्थलगत अनुगमन तथा निरीक्षण सम्पन्न गरी फर्किनु भएका भारत सरकारका विज्ञ टोलीसँग महत्वपूर्ण छलफल आयोजना गरिएको थियो ।

उक्त टोलीले तराई–मधेस क्षेत्रमा देखिएको खानेपानी समस्याको अवस्था तथा यसको तत्कालीन र दीर्घकालीन समाधानका लागि तयार पारिरहेको प्रतिवेदनबारे विस्तृत जानकारी गराउनु भएको मन्त्रालयका सहसचिव एवं प्रवक्ता मीना श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “उक्त टोली यहीँ साउन २७ गतेदेखि तराई–मधेसका सङ्कटग्रस्त जिल्लाहरूमा पुगेर स्थलगत रुपमा अनुगमन गरी फर्किएको छ । टोलीले प्रतिवेदन तयार गरी समस्या समाधानका लागि आवश्यक कार्ययोजना निर्माणमा खटिनेछ ।”

उक्त विज्ञ टोलीसँग आज पनि मधेश प्रदेशको खानेपानी सङ्कट र त्यसको स्थायी समाधानका विषयमा गहन र सार्थक छलफल भएको तथा उक्त छलफलबाट प्राप्त निष्कर्ष र विज्ञ टोलीको रायको आधारमा नेपाल सरकार तथा खानेपानी मन्त्रालयले आवश्यक कार्य अघि बढाउने मन्त्री यादवले बताउनुभयो ।

उहाँले भन्नुभयो, “खानेपानीको यस सङ्कटको समयमा प्रदान गरिएको सहयोगका लागि भारत सरकारप्रति पनि विशेष आभार सहित विज्ञ टोलीको यस महत्वपूर्ण प्रयासका लागि हार्दिक धन्यवाद व्यक्त गदछौँ ।”

प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भारत भ्रमणको क्रममा तराई–मधेसमा दीर्घकालीन खानेपानी समाधानका लागि ठोस योजना र सहमति होस् भन्ने हाम्रो दृढ अपेक्षा रहेको कुरा आफुले भारतीय विज्ञ पक्षसँग पुन: जोड दिएको समेत मन्त्री यादवले जानकारी दिनुभयो ।

यसैगरी मन्त्री यादवले केही महिना अघि भारत सरकारको जलशक्ति मन्त्रालयसँग हस्ताक्षर भएको समझदारीपत्र (एमओयु) को प्रतिफल स्वरूप सम्भव भएको यो सहकार्यले नेपाल–भारत सम्बन्धलाई अझ सुदृढ बनाउने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले नेपाल सरकार मधेश प्रदेशका जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यले नेपाल–भारत सहकार्यलाई अझ प्रभावकारी र परिणाममुखी बनाउन प्रतिबद्ध रहेको जानकारी गराउनुभयो ।

छलफलका क्रममा भारतीय विज्ञ टोलीका प्रतिनिधि तथा देहरादूनका क्षेत्रीय निर्देशक प्रशान्त राइले तराई–मधेसका सङ्कटग्रस्त जिल्लाहरूमा पुगेर आफुहरुले स्थलगत रुपमा अनुगमन गरी समस्या समाधानका लागि आवश्यक कार्ययोजना सहितको प्रतिवेदन तयार गरीरहेको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “हाम्रो टोली तराई–मधेसका सङ्कट ग्रस्त क्षेत्रमा पुगेर फर्किएको छ । खानेपानी समस्या र समाधानका विषयमा हामी प्रतिवेदन तयार गर्दैछौँ ।”

आजको उक्त भारतीय विज्ञ टोलीसँगको बैठकमा मन्त्रालयका सचिव ई प्रमिलादेबी शाक्य बज्राचार्य, सहसचिव ई मीना श्रेष्ठ, सहसचिव ई. कमलराज श्रेष्ठ, खानेपानी तथा ढल व्यवस्थापन विभागका उपमहानिर्देशक नारायणप्रसाद आचार्य लगायत सहभागी रहनु भएको थियो ।

त्यसैगरी भारतीय विज्ञ टोलीका तर्फबाट देहरादूनका क्षेत्रीय निर्देशक प्रशान्त राई, जगदम्बा प्रसाद, लखनउ खानेपानी विभाग र सरसफाइ सल्लाहकार आशिष पाण्डे लगायतको सहभागीता रहेको थियो


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार