
टीकापुर : टीकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको अध्यक्षमा नेपाली कांग्रेस प्यानलका खडग धामी बिजयी हुनु भएको छ । खानेपानी उपभोक्ता संस्थामा नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र नागरिक उन्मुक्ति पार्टीले प्यानल सहित उम्मेदवारी खडा गरेका थिए। धामीले एक हजार २३८ मत प्राप्त गरी विजयी हुनु भएको हो ।
नौ सदस्यीय कार्यसमितिका लागि साउन ३० गते भएको निर्वाचनमा तीन हजार ६९३ मतदाताले मतदान गरेका थिए मतगणना आइतबार राती सकिएको हो । नतिजा अनुसार उपाध्यक्षमा एक हजार ५१ मत प्राप्त गरी नेकपा (एकीकृत समाजवादी) बाट सीतादेवी चौधरी विजयी हुनु भएको छ । यस्तै कोषाध्यक्षमा एक हजार ११० मत प्राप्त गरी हीरासिंह विष्ट र सचिवमा सात ७३ मत प्राप्त गरी नेकपा ९एमाले० बाट प्रकाश खड्का विजयी हुनुभएको छ ।
यसैगरी, सदस्य पदमा नेपाली कांग्रेसका डम्बरबहादुर नायक, जानकी आचार्य, नेकपा (एमाले) बाट बमबहादुर ओली, जाल्पा भट्टराई र एकीकृत समाजवादीबाट तेजे ठकुल्ला निर्वाचित हुनुभएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्षका उम्मेदवार सृजना शर्मा पण्डितले चार ४४ मत पाउनुभयो भने नागरिक उन्मुक्तिबाट अध्यक्षका उम्मेदवार विश्राम चौधरीले तीन ८८ मत पाउनु भयो ।
कूल आठ हजार ६७० उपभोक्ता रहेको खानेपानीमा असार मसान्तमा बील भुक्तानी गरेका छ हजार ७९२ जना मतदाता सूचीमा थिए । खसेका मतमध्ये दोहोरो चिन्ह लगायका, कोठा बाहिर चिनो लगाएका र खाली छोडेका गरी नौ सय ३७ मत बदर भएकाे निर्वाचन अधिकृत श्यामराज पाण्डेले जानकारी दिनुभयो ।
नयाँ निर्वाचित अध्यक्ष खड्ग धामीले आफूले गरेको संस्थामा आर्थिक पारदर्शिता र स्वच्छ खानेपानी वितरण गर्ने प्रतिबद्धता पूरा गर्ने बताउनुभएको छ ।
खानेपानीका यसअघिका कार्यसमितिले संस्थाको लाखौं रुपियाँ पेश्की लिएर व्यक्तिगत काममा खर्च गरेका थिए । सचिव मनीष बलायरले सात लाख ७० हजार पेश्की लिएर कार्यकालभरी चलाउनु भएको थियो भने अघिल्ला कार्यसमितिका उपाध्यक्षले लिएको दस लाख पेश्की अझै असूल भएको छैन ।
१५ लाख ७५ हजार लिटर क्षमताका चारवटा ओभरहेड ट्याङ्की मार्फत पानी वितरण गर्दै आएको खानेपानीले गत वर्ष पानी महसुल र धारा जडानबाट ६६ लाख र पानीको महसुलबाट तीन करोड ४२ लाख आम्दानी गरेको छ । खानेपानीले नगर विकास कोषको १३ करोड आठ लाख ऋण तिर्न बाँकी छ ।


281 पटक हेरिएको 

