खानेपानी तथा ढल व्यवस्थापन कार्यालय र बर्दियाका पाँच पालिका बीच पानी परीक्षण सम्बन्धी समझदारी

  वास खबर सम्बाददाता  495 पटक हेरिएको
🔗
54
Shares

बर्दिया : बर्दियाका पाँच पालिका र खानेपानी तथा ढल व्यवस्थापन कार्यालय नेपालगञ्जबीच नियमित पानी परीक्षण गर्ने विषयमा समझदारी पत्र (MoU)मा हस्ताक्षर भएको छ।यूके एड र वाटर एडको सहयोगमा सञ्चालित वास गेन्स  परियोजना सञ्चालन भएका स्थानीय तहहरु गुलरिया, ठाकुरबाबा, मधुवन, बारबर्दिया नगरपालिका र गेरुवा गाउँपालिका तथा खानेपानी तथा ढल व्यवस्थापन कार्यालय नेपालगञ्जबीच बिहीबार सम्झौता भएको हो।

पालिकाभित्रका विद्यालय तथा अन्य सार्वजनिक खानेपानी स्रोतहरूको नियमित पानीको गुणस्तर परीक्षणलाई सहज र दिगो बनाउने उद्देश्यले समझदारी गरिएको वाटर एड नेपाल, वास गेन्स परियोजनाका परियोजना प्रबन्धक उमा शंकर यादवले बताउनुभयो।

सम्झौता अनुसार पालिकाले योजना निर्माण, बजेट व्यवस्थापन, नमुना संकलनमा सहयोग गर्ने र परीक्षण प्रतिवेदनका आधारमा सुधारात्मक कार्य अघि बढाउनेछन्। त्यस्तै, परीक्षण प्रतिवेदनलाई अभिलेखीकरण गर्ने जिम्मेवारी पनि पालिकाकै हुनेछ।

खानेपानी तथा ढल व्यवस्थापन कार्यालय नेपालगञ्जले भने पालिकाले उपलब्ध गराएको तालिकाअनुसार परीक्षण गर्ने, नमुना संकलन गर्ने तथा राष्ट्रिय खानेपानी गुणस्तर मापदण्ड २०७९ अनुसार प्रतिवेदन उपलब्ध गराउने व्यवस्था मिलाउनेछ।

सम्झौतामा पालिकातर्फका प्रमुख प्रशासकीय अधिकृत तथा कार्यालयतर्फका प्रमुख इन्जिनियर देवेन्द्र झाले हस्ताक्षर गरेका छन्।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार