
नवलपरासी : बर्दघाट खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले ३ हजार ६ सय उपभोक्तालाई सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ । २०६८ सालदेखि सुरु भएको उपभोक्ता सचेतनामूलक कार्यक्रमले हालसम्म निरन्तरता पाउँदा करिब ८५ प्रतिशत उपभोक्तामा कार्यक्रम पुर्याएको संस्थाका व्यवस्थापक विष्णु कुमार भुसालले जानकारी दिनुभयो ।
मानव स्वास्थ्य, वातावरणको संरक्षण र पुस्तान्तरणदेखि लिएर पानीको गुणस्तर सुधारसम्मका विषयलाई जोडेर उपभोक्ता सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ । संस्थाका व्यवस्थापक भुसालका अनुसार, उपभोक्ता सचेतना अभियानलाई सुरक्षित खानेपानी उपलब्ध गराउने प्रमुख लक्ष्यका साथ अहिलेसम्म पनि निरन्तरता दिइएको छ ।
पश्चिम नवलपरासीको बर्दघाट–४ मा रहेको बर्दघाट खानेपानीले संस्थाका उपाध्यक्ष कमल थापाको नेतृत्वमा खानेपानी सुरक्षा योजना टोली गठन गरी सचेतना कार्यक्रम सञ्चालन गरेको अध्यक्ष दीपक लम्सालले जानकारी दिनुभयो । लम्सालका अनुसार, सुरक्षा टोलीले योजनाबद्ध ढंगले उपभोक्तालाई केन्द्रित गरेर विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
लम्सालले भन्नुभयो, “हामीले नगरपालिका, विद्यालय, उद्योग वाणिज्य संघ, सामुदायिक वन, बजार विकास समिति लगायत विभिन्न संस्थासँग सहकार्य गरेका छौँ । तपाईंजस्ता उपभोक्तामाझ अझ प्रभावकारी ढंगले पुग्न हामी आगामी दिनमा कार्यक्रमलाई थप परिष्कृत गर्दै जानेछौँ ।”
संस्थाले हालसम्म २२ वटा टोल विकास संस्था, आमा समूह, विद्यार्थी, जनप्रतिनिधि, सल्लाहकार र कार्यसमितिका सदस्यहरूलाई सहभागी गराएर सचेतनामूलक गतिविधि सञ्चालन गरेको खानेपानी सुरक्षा योजनाका संयोजक कमल थापाले बताउनुभयो । थापाका अनुसार, बर्दघाट खानेपानीले टोलटोललाई केन्द्रित गरेर शुद्ध पानी, स्वास्थ्य र सरसफाइबारे विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिनुभयो ।
संस्थाले उपभोक्ता सचेतना मार्फत हरियाली प्रवर्द्धन तथा वातावरणमैत्री कार्यक्रमहरू सञ्चालन गरेको छ । वृक्षारोपण, पानीको शुद्धता, गुणस्तर, भण्डारण र सरसफाइका विषयमा अन्तरक्रिया, सुरक्षा योजना सम्बन्धी अभिमुखीकरण जस्ता कार्यक्रम संस्थाले सञ्चालन गरेको थापाले बताउनुभयो । हालसम्म राम्रो उपलब्धि हासिल भएको हुँदा आगामी दिनमा समेत निरन्तरता दिइने योजना रहेको थापाको भनाइ छ ।


379 पटक हेरिएको 

