
विराटनगर : ‘फोहोरमैला अब बोझ होइन, स्रोत हो’ भन्ने दृष्टिकोणसहित कोशी प्रदेशले दिगो फोहोरमैला व्यवस्थापनतर्फ ऐतिहासिक कदम चालेको छ। भौतिक पूर्वाधार विकास मन्त्रालयले मोरङ र इलामका ६ वटा स्थानीय तहसँग रणनीतिक साझेदारी गर्दै प्रदेशलाई स्वच्छ, सुन्दर र स्वस्थ बनाउने अभियान औपचारिक रूपमा सुरु गरेको हो।
सम्झौता अनुसार मोरङका रङ्गेली, सुनवर्षी, कानेपोखरी, धनपालथान र इलामका सूर्योदय नगरपालिका तथा रोङ गाउँपालिका सामेल भएका छन्। मोरङका चार पालिकाको फोहोर व्यवस्थापन रङ्गेलीमा केन्द्रित हुने छ भने इलामका दुई पालिकाको फोहोर प्रशोधन सूर्योदयमा हुनेछ।
‘यस साझेदारीको मूल उद्देश्य प्रदेशभर दिगो र वातावरणमैत्री आधुनिक फोहोरमैला व्यवस्थापन प्रणाली स्थापना गर्नु हो,’ भौतिक पूर्वाधार विकासमन्त्री भूपेन्द्र राईले बताउनुभयो।
नेपालको संविधानको धारा ५७ अनुसार सरसफाइ अधिकार स्थानीय तहलाई प्रत्याभूत छ। त्यसैलाई मूर्तरूप दिन प्रदेश सरकारले २०७७ सालमै फोहोरमैला व्यवस्थापन नीति बनाएको थियो। यो सम्झौता त्यही नीतिलाई व्यवहारमा उतार्ने ठोस कदम भएको मन्त्री राईको भनाइ छ।
यस परियोजनाको मुख्य कार्यान्वयनकर्ता मन्त्रालय नै हुने छ। विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्ने, वातावरणीय प्रभाव मूल्यांकन गर्ने, बजेट व्यवस्थापन, प्राविधिक सहयोग र पूर्वाधार विकासमा प्रदेश सरकार सक्रिय रहने मन्त्रालयका निमित्त सचिव रमेश श्रेष्ठले जानकारी दिनुभयो। उहाँका अनुसार प्रदेश सरकारले प्रत्येक केन्द्रका लागि ५ करोड रुपैयाँसम्म लगानी गर्नेछ भने स्वीस कन्ट्याक्ट परियोजनाले थप २ करोड रुपैयाँ सहयोग गर्नेछ। बाँकी रकम स्थानीय तहले जुटाउनेछन्।
साझेदार पालिकाले जग्गा उपलब्ध गराउने, जनचेतना अभिवृद्धि गर्ने, फोहोरको पृथकीकरण, संकलन र प्राथमिक प्रशोधनमा अग्रसर हुने छन्। परियोजना सहज बनाउन संयुक्त कार्यसमिति गठन गरिनेछ, जसमा सहभागी पालिकाका प्रतिनिधिहरू रहनेछन्।
‘फोहोर व्यवस्थापनको यो एकीकृत मोडेलले पुनःप्रयोग, प्रशोधन र सुरक्षित विसर्जनलाई प्राथमिकता दिनेछ,’ रङ्गेली नगरपालिका मेयर दिलीप बगोडियाले भने, ‘यसबाट प्रदेशको वातावरणीय स्वच्छता र सार्वजनिक स्वास्थ्यमा क्रान्तिकारी सुधार आउने अपेक्षा गरिएको छ।’
मन्त्रालयका अनुसार परियोजना तत्काल सुरु हुँदैछ। पहिलो चरणमा डीपीआर तयार पारिने र त्यसपछि निर्माण कार्य अघि बढाइनेछ। प्रदेश सरकारले प्रारम्भिक लगानी गरिसकेको छ भने स्वीस कन्ट्याक्टको सहयोगले परियोजनालाई थप गति दिनेछ।
भौतिक पूर्वाधार विकास राज्यमन्त्री भूमिप्रसाद राजवंशीले भन्नुभयो ‘फोहोरलाई समस्या होइन, सम्भावना भनेर हेर्ने दृष्टिकोणले यो साझेदारी कोशी प्रदेशमा दिगो विकासको नयाँ उदाहरण बन्नेछ।’


242 पटक हेरिएको 

