
सल्यान :“पहिले बिहान सबेरै उठेर तल खोलामा जान्थ्यौँ, गर्भवती महिलाले समेत पानी बोक्नुपर्ने बाध्यता थियो । अब त घरमै धारा छ, पानीको पिरै छैन ।” यो भनाइ हो शारदा नगरपालिका–१३, स्यानीखालकी ५५ वर्षीय तिलसरी घर्तीको । उहाँजस्तै ७० वर्षीय विष्णी बुढाको पनि उस्तै थियो दैनिकी । लाइनमा उभिँदा झगडा पर्ने र तनाव उत्पन्न हुने सामान्य जस्तै हुन्थ्यो सल्यान शारदा नगरपालिका–१३ का सयौँ बासिन्दाका लागि ।
अब भने यहाँका घर घरका धारामा पानी आउन थालेपछि दैनिकी फेरिएको छ । स्थानीय ५५ वर्षीय तिलसरी घर्तीले भन्नुभयो, “पढ्न मन भए पनि समय पानीमै खर्चिनुपथ्र्यो । पानीकै लागि रातबिरात हिँड्दा धेरै दुःख पायौँ । अहिले घरमै धारा आउँदा जिन्दगी नै फेरिए जस्तो लागेको छ ।”
शारदा नगरपालिका–१३ का सबैको घरआँगनमै धारा जडान भएका छन् । करिब सात करोड रुपियाँको लागतमा बनेको लिफ्ट खानेपानी योजना सञ्चालनमा आएपछि यहाँका ४९५ घरपरिवारमा खुसी छाएको हो । खानेपानी उपभोक्ता समितिका अध्यक्ष तुलसीराम रावतले मोख्ले मुहानबाट पानी लिफ्ट गरेर पाँच टोलमा वितरण गरिएको बताउनुभयो । उहाँका अनुसार दैनिक साँझबिहान धारामा पानी छाड्ने र खानेपानी योजना मर्मतसम्भारका लागि आवश्यक महसुल लिने व्यवस्थासमेत गरिएको छ ।
पानीले यहाँका परिवारलाई मात्र सहज बनाएको छैन, गाउँकै मुहार फेरिएको छ । दैनिक जीवन, स्वास्थ्य, शिक्षा, सरसफाइदेखि कृषि उत्पादनसम्ममा पानीले स्वरूप फेरिदिएको शारदा नगरपालिका–१३ का अध्यक्ष जङ्गबहादुर बुढाले भन्नुभयो । सल्यानमा जलवायु परिवर्तनका कारण माथिका साना मूल सुकेका र ठुला मुहान तल र बस्तीमाथि भएकाले लिफ्ट प्रणाली अपनाइएको खबर गोरखापत्र दैनिकले प्रकाशन गरेको छ।
खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय सल्यानका प्रमुख अनुप श्रेष्ठका अनुसार कर्णाली प्रदेशका धेरैजसो योजना अहिले लिफ्ट प्रणालीमा आधारित छन् ।


338 पटक हेरिएको 

