टुक्रे आयोजना कटौतीका लागि तीन सदस्यीय समिति गठन

प्रतिवेदन बुझाउन तीन दिनको म्याद

  वास खबर सम्बाददाता  299 पटक हेरिएको

काठमाडौ : अर्थमन्त्री रामेश्वर खनालले चालु आर्थिक वर्षको बजेटमा समावेश भएका टुक्रे र तयारी नभएका आयोजना कटौती गर्न बजेट तथा कार्यक्रम महाशाखा प्रमुख सुमन दाहालको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गर्नु भएको छ।

अर्थमन्त्रीको कार्यभार सम्हालेपछिको पहिलो निर्णय कार्यान्वयनका लागि अर्थमन्त्री खनालले टुक्रे आयोजना कटौतीका लागि सिफारिस समिति गठन गर्नु भएको हो।

तीन सदस्यीय उक्त समितिमा राजस्व महाशाखा प्रमुख उत्तरकुमार खत्री र वैदेशिक सहायता समन्वय महाशाखा प्रमुख धनीराम शर्मा सदस्य हुनुहुन्छ । टुक्रे आयोजना कटौतीको सिफारिसका लागि समितिलाई तीन दिनको म्याद दिइएको छ ।

संघीय बजेटको सीमा बाहिर गएर केपी ओली नेतृत्वको सरकारमा विभिन्न टुक्रे आयोजनाहरुका लागि बजेट विनियोजन गरिएको थियो । अघिल्ला बर्षहरुमा पनि त्यस्ता टुक्रे आयोजनाका लागि विनियोजन गरिएको बजेट कार्यान्वयनमा जटिलता देखिएको थियो ।

सोमबार अर्थमन्त्री खनालले कार्यभार सम्हाल्दै गर्दा अर्थसचिव घनश्याम उपाध्यायले चालु आर्थिक वर्षको बजेटबाट टुक्रे र तयारी विनाका आयोजना हटाउँदा करिब १ खर्ब रुपैयाँ निकाल्न सकिने बताउनु भएको थियो।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार