
मकवानपुर : मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ६ का ८६ घर परिवारलाई खानेपानी वितरण गरिएको छ । करिब चार वर्षको अथक प्रयास पश्चात थाहानगरको ६ नम्बर वडाको तिनाल बस्तीमा खानेपानीको पहुँच विस्तार गरिएको हो । खानेपानी आयोजनाको हालै उदघाटन गरिएको छ ।
तिनाल लिफ्टिङ खानेपानी आयोजनामा ७ सय मिटर तल खोल्साबाट पानी लिफ्टिङ गरी वितरण गरिएको छ । १ सय १३ परिवारलाई लक्षित गरी निर्माण गरिएको आयोजनामा हालसम्म ८६ परिवारलाई खानेपानीको घरघरमै धारा जडान गरिएको छ । च्वाइस नेपालको करिब ३४ लाख, थाहा नगरपालिकाको ९ लाख तथा स्थानीय समुदायको १७ लाख ५० हजारको लागतमा उक्त आयोजना निर्माण सम्पन्न भएको च्वाइस नेपालका खानेपानी प्राविधिक सुभाषचन्द्र मरहट्टाले जानकारी दिनुभयो ।
निर्माण सम्पन्न पश्चात् स्थानीयबासीलाई डेढ घण्टा लगाएर कुवा र खोल्साबाट पानी ल्याएर खानुपर्ने बाध्यताको अन्त्य भएको छ । घरकै धारामा पानी आए पश्चात् खुशी हुँदै स्थानीय ६५ वर्षिय कान्छी बलामीले भन्नुभयो ‘तसर गाउँमा पुगी अर्काको धाराबाट घण्टौ लागाएर पानी बोकेर खानुपर्ने बाध्यता हट्यो’ उहाँले अटो (तीन पाग्रे सवारी) मा एक खेप पानी ल्याएको २ सय भन्दा बढी भाडा तिरेर पानी ल्याउनु परेको बाध्यता सम्झँदै भन्नुभयो ‘अटो र भारी बोकेर पानी ओसार्ने दिन गए, मासिक ३ सय तिरेपछि सँधै पानी घरैमा थाप्न पाइन्छ ।’
खानेपानी आयोजना उदघाटन कार्यक्रममा वडा नम्बर ६ का वडाध्यक्ष राजनभक्त श्रेष्ठले च्वाइस नेपालको सहयोगको प्रशंसा गर्दै संस्थाको सहयोगकै कारण तिनालमा खानेपानी खुवाउन संभव भएको बताउनुभयो । कार्यक्रमका प्रमुख अतिथी समेत रहेका श्रेष्ठले आयोजनाको दिगोपनाको लागि महशुल संकलन, व्यवस्थापन र परदर्शी रुपमा काम गर्न समितिलाई आग्रह गर्नुभयो। ‘तपाइहरु खानेपानीको दिगो व्यवस्थापनका लागि सक्रियता देखाउनुस, मासिक महशुल संकलन तथा मर्मत संभार सबै व्यवस्था गर्नुस् त्यति गर्दा पनि आर्थिक स्रोत कमजोर भए वडा कार्यालयले सहयोग गर्ने गर्छ’ अध्यक्ष श्रेष्ठले प्रतिवद्धता जनाउनुभयो ।

उहाँले आफ्नो वडामा घरैपिच्छे खानेपानी धारा पुर्याउनेदेखि शिक्षा र स्वासथ्यलाई समेत महत्वका साथ काम गर्दै आएको सुनाउनुभयो।
च्वाइस नेपालका कार्यक्रम निर्देशक भिस्विङगल जिसीले योजना सम्पन्न गरी उद्घाटन गरेर छोड्ने च्वाइस नेपालको मनशााय नभएको बताउनुभयो । कार्यक्रम निर्देशक जिसीले समुदायको सक्रियताका कारण खानेपानी योजना सम्पन्न भई वितरणका कार्य भइरहेको बताउँदै संस्थाको तर्फबाट प्राविधिक सहयोगसँगै समन्वय र सहजीकरणलाई निरन्तरता दिने उल्लेख गर्नुभयो । कार्यक्रमका विशेष अतिथी समेत रहेको जिसीले धेरै कठिनाईका बीच योजना सम्पन्न गर्नका लागि सहयोग गर्ने जनप्रतिनीधिहरु, समुदाय र सरोकारवाल सबैप्रति आभार व्यक्त व्यक्त गर्नुभयो।
कार्यक्रममा तिनाल खानेपानी आयोजनाको उपभोक्ता तथा स्थानीय समाजसेवी कल्पना बलामीले बारीमा काम गर्न आउँदा पनि बजारबाट बोतलमा पानी बोकेर आउनु पर्ने बाध्यताको खानेपानी उदघाटन सँगै अन्त्य भएको बताउनुभयो। खानेपानी जस्तो महत्वपूर्ण क्षेत्रमा लगानी गरी योजना सम्पन्न गर्नका लागि भूमिका निर्वाह गर्ने च्वाइस नेपाल, नगरपालिका तथा समुदायलाई बलामीले धन्यवाद व्यक्त गर्नुभयो। बलामीले भन्नुभयो ‘योजना उद्घाटनसँगै अब शुरु भएको छ, यसको दिगोपनाको लागि सबै एकजुट हुन आवश्यक छ ।’ आयोजनाको दिगोपनाको लागि समिति जिम्मेवार भएर अघि बढ्नुपर्ने बलामीको भनाइ थियो । योजना सञ्चालनको क्रममा समितिले पारदर्शी भएर काम गर्नुपर्ने उहाँको भनाइ थियो।

सो अवसरमा खानेपानी आयोजनालाई सफल पार्नका लागि योगदान दिने च्वाइस नेपाल, थाहा नगर ६ नम्बर वडा कार्यालय, थाहानगर खानेपानी व्यवस्थापन बोर्डलाई समितिको तर्फबाट सम्मान गरिएको थियो । सो अवसरमा तिनाल लिफ्टिङ खानेपानी आयोजनाका निर्माणका लागि सर्वपक्षिय सहयोग जुटार सक्रियता पूर्वक योजना सम्पन्न गर्न सफल भएकोमा समितिका अध्यक्ष केदार बलामी पनि सम्मानित भएका थिए ।
निर्माण समितिका अध्यक्ष केदार बलामीको सभाध्यक्षामा भएको कार्यक्रममा च्वाइस नेपाल मकवानपुरका कार्यक्रम संयोजक सुकराम दुलाल, खानेपानी प्राविधिक सुभास चन्द्र मरहट्टा, थाहानगर खानेपानी व्यवस्थापन बोर्डका सुरज कुमार भुजेल, थाहा नगरपालिकाका फिल्ड सहायक अच्युत विडारी, उपभोक्ता समितिका पदाअधिकारीहरु तथा स्थानीय उपभोक्ताहरुको उल्लेख्य सहभागिता रहेको थियो ।


209 पटक हेरिएको 

