
पर्वत : बागलुङ सदरमुकमका बासिन्दालाई पर्याप्त खानेपानी उपलब्ध गराउन सात वर्षअघि सुरु गरिएको लिफ्ट खानेपानी आयोजना अझैसम्म पनि पुरा हुन सकेको छैन । दुई वर्षमा सक्नेगरी २०७५ साल असार ३१ गते सम्झौता गरिएको बागलुङ नगर बृहत् खानेपानी लिफ्ट आयोजनाको ९५ प्रतिशत काम भए पनि खानेपानीलाई नयाँ संरचनाबाट वितरण गर्न अझै बाँकी छ । कन्काई जयमाता जेभीले २०७७ सालमा निर्माण सक्नेगरी ३० करोड २६ लाख ५१ हजार लागतमा ठेक्का सम्झौता भएको थियो ।
बागलुङ नगर खानेपानी तथा उपभोक्ता समितिले आम उपभोक्तालाई लिफ्ट मार्फत पानी वितरण गर्दा मासिक पाँच लाख विद्युत महसुल तिर्दै आएको छ । अधूरो लिफ्ट आयोजनाबाट खानेपानीको संकट टार्नका लागि पानी तान्दै आएको समितिले विद्युत महसुलमा वार्षिक ६० लाख खर्चँदै आए पनि महसुल छुट सुविधाबाट वञ्चित भएको छ । आयोजना सम्पन्न नहुँदा गण्डकी प्रदेशले छुट दिने विद्युत महसुलको लाभ लिन नसक्दा लाखौँ नोक्सानी व्यहोर्दै आएको बागलुङ नगर खानेपानी तथा उपभोक्ता संस्थाले जनाएको छ ।
निर्माण व्यवसायीले आयोजना सकेर हस्तान्तरण नगर्दा विद्युत छुटको सम्झौता गर्न नसक्दा संघीय र प्रदेशले प्रदान गर्ने महसुल छुटमा जान नसकिएको बागलुङ नगर खानेपानी तथा उपभोक्ता संस्थाका कार्यबाहक अध्यक्ष हरिबहादुर जिसीले जानकारी दिनुभयो। पछि आयोजनाको लागत चार करोड थपिए पनि निर्माण व्यवसायीले आयोजनालाई सम्पन्न गर्नतर्फ ध्यान नदिँदा लाखौंको विद्युत महसुल भुक्तानी गर्न नगर खानेपानी बाध्य भएको जिसीको भनाइ छ ।
‘गण्डकी प्रदेशको खानेपानी विद्युत महसुल र संघीय खानेपानीले समेत विद्युत महसुलमा छुट दिने योजना ल्याएको छ, मासिक पाँच लाख महसुलमा केही छुट भए राहत मिल्ने थियो,’ जिसीले भन्नुभयो ‘निर्माण व्यवसायीले ९५ प्रतिशत काम सके पनि रातामाटामा निर्माण गरिएको सात लाख लिटरको खानेपानी ट्यांकीमा पानी पुर्याइएको छैन, संस्थाले अस्थायी रूपमा लिफ्टको पानी पुरानै ट्यांकीमा राखेर वितरण गरिरहेका छौं ।’
गण्डकी प्रदेश सरकारले लिफ्ट खानेपानी आयोजना विद्युत महसुल अनुदान कार्यविधि, २०७९ अनुसार आयोजनाको विद्युत बागलुङ नगर खानेपानी तथा उपभोक्ता समितिले २५ प्रतिशत रकम छुट पाउने व्यवस्था छ । निर्माण व्यवसायीले काम सम्पन्न नगर्दा नगर खानेपानीले वार्षिक क्षति व्यहोर्दै आएको जिसीको भनाइ छ ।
वार्षिक ६० लाख विद्युत महसुल तिर्दै आएको नगर खानेपानीले वार्षिक १५ लाख रुपैयाँ छुट पाउँदा राहत मिल्ने जिसीको भनाइ छ । बागलुङ बजारमा खानेपानीको चरम संकट भएपछि आयोजना अन्तिम चरणमा रहँदै २०८१ जेठबाट दुईवटा मोटरबाट खानेपानी तानेर लोकमार्ग नजिकैको पुरानो ट्यांकी मार्फत वितरण गरिँदै आएको छ । ठूलो लिफ्ट आयोजनामा संघीय सरकारले पनि महसुल छुट दिने योजना ल्याएको छ ।
आयोजनाको निर्माण व्यवसायीले निर्माण सम्पन्न गरे पनि लोकमार्गभन्दा माथि निर्माण गरेको नयाँ सात लाख लिटरका दुईवटा संकलन ट्यांकीमा पानी खसाल्ने र गौडाकोट र रमेटार क्षेत्रमा वितरण गर्न बाँकी छ । बागलुङ नगरपालिका–३ स्थित काठेखोलाको पानी कैलामपोखरीबाट २५० मिटरमाथि रातामाटामा पुर्याउने गरी आयोजना अन्तिम चरणमा पुगे पनि सम्पन्न नहुँदा विद्युत महसुलको भार नगर खानेपानीलाई परेको छ । खानेपानीको परीक्षण नै असफल भएपछि खानेपानीको पाइप नै खानेपानी तथा ढल व्यवस्थापन विभागले परिवर्तन गरेको थियो ।
निर्माण व्यवसायी कृष्णहरि चौलागाईँले आयोजना सम्पन्नमा ढिलाइ भएको स्वीकार गर्नुभयो । उहाँले आयोजनास्थल भौगोलिक रूपमा कमजोर भएको, पहिरो व्यवस्थापमा ढिलाइ भएको, कोरोना त्रास, आर्थिक संकट र पाइपलाइन डिजाइनको समस्या सुल्झाउने लगायत कारण सम्पन्नतामा ढिलाइ भएको बताउनुभयो। बागलुङ बजारमुनि रहेको काठेखोलाको पानी लिफ्ट मार्फत रातमाटामा तानेर शुद्धीकरण गरेर मात्र वितरण गर्ने लिफ्ट आयोजनाको योजना छ ।


309 पटक हेरिएको 

