काठमाडौ : वर्षाको समयमा महामारी फैलिनबाट बच्न पानीलाई शुद्धिकरण गरेर मात्र पिउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तर्गतको राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले सूचना निकाल्दै यस्तो आग्रह गरेको हो । वर्षातको समयमा झाडापखाला, हैजा, टाइफाइड, जन्डिस, आउँ, निमोनिया, रुघाखोकी जस्ता पानीजन्य, सङ्क्रमण रोगको जोखिम बढ्ने भन्दै मन्त्रालयले यस्तो आग्रह गरेको हो ।
वर्षातको मौसममा खानेपानीका स्रोत दुषित हुने हुनाले पानीलाई शुद्धिकरण गरेर मात्र पिउन मन्त्रालयका वरिष्ठ स्वास्थ्य शिक्षा प्रशासक तथा सूचना अधिकारी भक्तबहादुर केसीले आग्रह गर्नुभयो ।
उहाँका अनुसार शुद्धिकरण गरेको पानी पिउने गरेमा पानीजन्य रोग लाग्नबाट बच्न सकिन्छ ।
पानीलाई शुद्धीकरण गरेर मात्र पिउन उहाँको भनाइ छ । झाडापखाला, हैजा आउँ, निमोनिया रुघाखोकी तथा टाइफाइडजस्ता पानीजन्य रोगको लक्षण देखिएमा हेलचेक्राई नगरी तुरुन्त नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गर्न उहाँले आग्रह गर्नुभयो ।
पानी शुद्धिकरणका सरल तरिकाहरु
पहिलो तरिका हो सोडिस विधि : यसमा पहिले वोतललाई सफा गर्ने र यसरी सफा गर्दा बाहिरी लेबल पनि उक्काउन जरुरी छ । ताकि बाहिरवाटै स्पष्टसँग भित्र पानी देखियोस् । बोतल राम्रो सँग सफा गरिसकेपछि त्यस्मा खानेपानी हालेर भरिएको बोतललाई सूर्यको किरण पर्ने गरी कम्तिमा ७ घन्टा ढल्काएर राख्नुपर्छ। यदि घाम नलागेमा २ दिनसम्म घाममा राख्ने र यसो गरेमा पानी सेवन गर्नका लागि योग्य बन्छ ।
पानीलाई उमालेर शुद्धिकरण गर्ने विधी : तातो हुँदैमा पानी शुद्ध भएको हुँदैन तसर्थ पानीलाई भकभकी १०० डिग्री सेल्सियस भन्दा बढी तापमा उमाल्ने अनि चिसो भएपछि पिउन शुद्ध र सुरक्षित मानिन्छ । विपदको समयमा यो विधि निक्कै प्रभावकारी मानिन्छ ।

फिल्टरबाट शुद्धिकरण गर्ने विधि : सरल रुपमा फिल्टरमा पानी हाल्ने र छानिएर आएको पानी सेवन योग्य हुन्छ । सकेसम्म फिल्टर गरिसकेपछि पनि पानीलाई एकफेर उमालेर सेवन गरेमा जोखिमको मात्रा न्यून हुन्छ । समय समयमा फिल्टरको भाँडा र क्याण्डल सफा गर्न पनि जरुरी हुन्छ ।
र क्लोरिनेसन विधि : बजारमा किन्न पाउने क्लोरिन झोललाई पानीमा मात्रा मिलाएर हालेर शुद्धिकरण गर्ने विधिलाई क्लोरिनेसन विधि भनिन्छ । यसरी पियुष, वाटरगार्ड जस्ता क्लोरिन झोल प्रयोग गर्दा तिनका बट्टामा लेखिएका निर्देशिकाहरु मज्जाले पढेर सोही अनुसार प्रयोग गर्न सकिन्छ ।
पानीलाई शुद्ध गर्ने अर्को तरिकामा आयोडिनका थोपा या चक्कीको प्रयोग गरेर पनि पानी शुद्ध गर्न सकिन्छ । आवश्यक्ता अनुसार र पानीको मात्रा र धमिलोपनाको आधारमा आयोडिनका थोपा या चक्कीहरु हालेर पिउन सकिन्छ । यसरी शुद्ध गर्दा आयोडिन हालेको केही समय लगभग आधा देखि एक घन्टा पछि मात्र पानी सेवन गर्नुपर्दछ ।


315 पटक हेरिएको 

