बुलिङ्टार : पूर्वी नवलपरासीको पहाडी बुलिङ्टार गाउँपालिका–३ का कुमाल र दराई समुदायका बासिन्दाले जीवनमा पहिलो पटक धाराबाट सफा खानेपानी पिउन पाएका छन् । दशौं वर्षदेखि पँधेरो र कुवाको भरमा बसोबास गर्दै आएका यहाँका स्थानीयले अहिले घरघरमा धाराबाट पानी पिउन पाउँदा अत्यन्त खुशी भएका छन् ।
गण्डकी प्रदेश सरकारले करिब एक करोड रुपैयाँको लागतमा सञ्चालन गरेको चम्घा–दद्राली खानेपानी आयोजना २०७८ सालमा सुरु भएको थियो । चार वर्ष लामो प्रतीक्षापछि योजना सम्पन्न भएसँगै १०३ घरधुरीका करिब १,७०० बढी स्थानीयले प्रत्यक्ष रूपमा खानेपानी सुविधा पाएका छन्, उपभोक्ता समितिका सचिव टेकनाथ दराईले जानकारी दिनुभयो ।
खग्रेनी खोलाको मुहानबाट लिफ्टिङ प्रणालीमार्फत पानी संकलन गरी एक लाख लिटर क्षमताको ३२ मिटर अग्लो ट्यांकी निर्माण गरिएको छ । त्यहाँबाट घरघरमा धारा र मिटर जडान गरी नियमित पानी आपूर्ति सुरु गरिएको समितिका अध्यक्ष खड्गबहादुर कुमालले बताउनुभयो ।
यसअघि कुवाको पानीमा निर्भर रहँदै डोको र गाग्रीमा पानी बोकेर ल्याउनुपर्ने बाध्यता अब अन्त्य भएको स्थानीय बेलबहादुर दराईले खुशी व्यक्त गर्नुभयो । उहाँका अनुसार “आफ्नै घरमा धाराबाट पानी झर्ने दृश्य देख्दा गाउँमा उत्सव झैँ माहोल छ।”
६८ वर्षीया सुकमाया कुमालका अनुसार, “जीवनभर डोकोमा पानी बोकेर थाक्यौँ, अब अन्त्यमा भए पनि धाराको पानी पिउन पायौँ, यही ठूलो सुख हो।” त्यस्तै दराई महिला समूहका महिलाले पनि “वर्षौंदेखिको सपना पूरा भएको” भन्दै हर्ष व्यक्त गरेका छन् ।
आर्थिक वर्ष २०८१/८२ को बजेटबाट पम्प खरिद, जाली, पेन्ट र धारा फिटिङका काम पूरा भएपछि योजना औपचारिक रूपमा सम्पन्न भएको हो । पानी घरघरमा पुगेपछि स्थानीयको आँखामा खुशीका आँसु टलमलाएको मुक्तबहादुर दराईले बताउनुभयो ।
गाउँपालिकाका अध्यक्ष दीपेन्द्र सुनारी मगरका अनुसार, बुलिङ्टार–३ को सबैभन्दा जटिल समस्या नै खानेपानी थियो । अहिले त्यो समस्या दीर्घकालीन रूपमा समाधान हुँदै गएको र प्रदेश सरकारसँग समन्वयमा अझ स्थायी समाधानका लागि काम अघि बढाइएको बताउनुभयो ।
प्रदेश सरकारको सहयोगमा सम्पन्न सो आयोजना निर्माणका क्रममा स्थानीयले करिब पाँच लाख ६० हजार बराबरको श्रमदान गरेका थिए । “स्थानीयको सक्रियता र सामूहिक सहयोगकै कारण योजना समयमै सम्पन्न गर्न सफल भयौं,” सचिव दराईले बताउनुभयो ।
वडाध्यक्ष विष्णुवीर जर्घा मगरले पनि स्थानीयको सहभागिता र आत्मनिर्भर प्रयासको प्रशंसा गर्दै भन्नुभयो, “गाउँले आफैं गरेर उदाहरण प्रस्तुत गरेको छ, अब अरू वडाहरूले पनि यसबाट प्रेरणा लिन सक्छन्।”


274 पटक हेरिएको 


