खानेपानीमा दलिय टकराउ, आमभेला गरेर समिति गठन गर्न माग

पर्वत : पर्वतको फलेवास नगरपालिका – ३ शंकरपोखरीको खानेपानी उपभोक्ता समितिमा दलिय टकराउले विवादको रुप लिएको छ । कांग्रेस गाउँ कार्यसमितिका सचिव शिवप्रसाद तिवारीको अध्यक्षतामा गठन भएको खानेपानी उपभोक्ता समितिमा एमाले र माओवादीले दाबी गरेपछि दलिय टकराउ बढेको हो ।

यद्यपि समितिको उपाध्यक्षमा माओवादी केन्द्रका विष्णुबहादुर विक र सचिवमा एमालेका भीमप्रसाद भुसाल हुनुहुन्छ । तर एमाले र माओवादी केन्द्रले अध्यक्ष आफुहरुले पाउनुपर्ने दाबी गर्दै तिवारी नेतृत्वको समिति नस्वीकार्ने र अर्को आमभेला गरेर समिति गठन गर्न माग गरिरहेका छन् ।

खानेपानी तथा सरसफाइ मन्त्रालयको २४ करोड रुपैयाँको लागतमा बृहत खानेपानी आयोजना सञ्चालन हुन लागेको हो । जिल्ला खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय पर्वतका अनुसार खानेपानी आयोजना सञ्चालन भएपछि उक्त फलेवास नगरपालिकाका सात सयभन्दा बढी घरपरिवार लाभान्वित हुनेछन् ।

‘उपभोक्ता समिति आम भेलाबाटै निर्माण भएकाले वैधानिकताको प्रश्न उठाएर विरोध गर्नु विकासको काम रोक्नुबाहेक केही नभएको नगरपालिकाका प्रमुख पदमपाणि शर्माले बताउनुभयो । उहाँले समितिमा विवाद गरेर खानेपानी आयोजना काममा अवरोध नगर्न र विवाद नगर्न आग्रह पनि आग्रह गर्नुभएको छ । ‘बेकारका माग राखेर काम रोक्नु हुन्न भन्नेमा हामी अडिग छौं, सानातिना विवादले काम रोक्नु हुँदैन भनेर हामीले निर्देशन दिएका छौं ।’ नगरप्रमुख शर्माले भन्नुभयो ।

३ नं.वडाका वडाध्यक्ष अर्जुनबहादुर कार्कीले पनि कांग्रेस, एमाले, माओवादी केन्द्र, राप्रपा, जनमोर्चा लगायत दलका प्रतिनिधि सहित दलित, अपांग र महिलाको सहभागिता सहितको उपभोक्ता समिति गठन भएको बताउनुभयो ।

चालु आर्थिक बर्षका लागि खानेपानी तथा सरसफाइ मन्त्रालय मार्फत २४ करोड रुपैयाँ बृहत खानेपानी आयोजना सञ्चालन गर्न अख्तियारी प्राप्त भए पनि उपभोक्ता समितिको विवादकै कारण आयोजना प्रभावित बनेको छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार