मुसहर बस्तीमा फैलिएको हैजा अझै नियन्त्रणमा आएन

  वास खबर संवाददाता  180 पटक हेरिएको

सप्तरी : सप्तरीको छिन्नमस्ता गाउँपालिका-५, लोखरम मुसहर बस्तीमा एकै परिवारको तीन जनाको ज्यान लिने गरी फेलिएको हैजा पूर्ण रूपमा नियन्त्रणमा आएको छैन । हाल झाडापखाला सङ्क्रमित १४ जनाको घरमै उपचार भईरहेको बिरामीको उपचारमा संलग्न डा।आनन्द सिंहले जानकारी दिनुभयो ।

हैजाको मुख्य श्रोत बस्ती नजिकै बग्ने भलुवाही खोलाको पानी र पोखरीको पानी रहेको पुष्टि भएको छ ।

समुदायमा हैजाबाट दुई बालबालिका सहित एकै परिवारको तीन जनाको ज्यान जाने गरी सङ्क्रमण फैलिएपछि हैजाको श्रोत पत्ता लगाउन स्थानीय पालिकाले स्वास्थ्य कार्यालयसँग समन्वय गरी ७ वटा पानीको परिक्षण गराउँदा भलुवाही खोलाको पानी र पोखरीको पानीमा हैजाको जिवाणु भेटिएको छिन्नमस्ता गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख दिपेन्द्र यादवले जानकारी दिनुभयो ।

‘अहिले समुदायका प्रत्येक व्यक्तिलाई पोखरी र भलुवाही खोलाको पानी प्रयोग नगर्न जनचेतना फैलाउन र निगरानी गर्न बस्तीमा स्वंसेवकहरू खटाइएको छ’उहाँले भन्नुभयो ‘हामी स्वास्थ्यकर्मीले उपचारसँगै आवश्यक औषधी समेत वितरण गरिरहेका छौँ ।’ उहाँका अनुसार ५३ जना बिरामी उपचारपछि घर फर्किसकेका छन्।

गैरसरकारी संस्थाहरूको सहयोगमा निरन्तर सरसफाइ भइरहेको, ३० वटा फिल्टर वितरण गरि सरसफाइको विषयमा समुदायमा निरन्तर जनचेतना फैलाउँदै आएको पालिका अध्यक्ष विद्यानन्द चौधरीले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, पहिले भन्दा अहिले अवस्था सहज भएको छ । हामी निरन्तर लागिरहेका छौं । अहिलेको अवस्थामा आवश्यकता ठानेर ४ शय्या रहेको पालिकाको स्वास्थ्य चौकीमा ८ शय्या बनाएको उहाँले बताउनुभयो । यसअघि बिरामीको आरडिटी परिक्षण गर्दा हैजा पुष्टि भएपछि प्रादेशिक ल्यावमा दिसाको कल्चर गर्दा समेत हैंजा पुष्टि भएको थियोे ।

स्वास्थ्य बिभागले बिहीबारदेखि स्थानीय स्वास्थ्य चौकीमा एक जना एमबिबिएस डाक्टरलाई खटाएको छ । यता विपद् व्यवस्थापन समिति सप्तरी तयारी अवस्थामा रहेको अध्यक्ष चौधरीले बताउनुभयो ।

खुला दिसापिसाब मुक्त भैसकेको जिल्लामा बस्तीमै एउटा पनि शौचालय नहुनु,खुला आकाश मुनि दिसापिसाब गर्न बाध्य हुनु र स्वास्थ पानीको अभावमा झाडापखालाबाट हैजा फैलिएर तीन जनाको मृत्युु हुनु जिल्लाका लागि दुःखद रहेको नेपाल पत्रकार महासङ्घका अध्यक्ष श्रवणकुमार देवले बताउनुभयो ।

तीन वटा मात्र चापाकल भएको मुसहर बस्तीमा बसोवास गर्ने ९० परिवारले भलुवाही खोलाबाट आएको पानी र पोखरीमा नुहाउने, भाडा मस्काउने र लुगा धुँदै आएका थिए ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार