काठमाडौ : काठमाडौ उपत्यकाको फोहोर सूर्योदय अघि नै उठाइसक्ने काठमाडौ महानगरपालिकाको योजना सडक बत्तीका कारण प्रभावित भएको छ । सडक बत्ती उज्यालो नहुँदै निभेपछि अध्यारोमै फोहोर उठाउन नसकेको काठमाडौ महानगरपालिकाको वातावरण व्यवस्थापन विभाग प्रमुख हरि कुँवरले बताउनुभयो ।
काठमाडौंमा मेलम्चीको पाइप लाइन विछ्याउने र सडक विस्तारको कामले धुलो उडेर सोलार प्यानल छोपिंदा सोलार व्याट्री चार्ज हुन नपाउँदा उज्यालो नहुँदै सडक बत्ती निभ्ने गरेको उहाँले बताउनुभयो । वास खबर सँग कुराकानी गर्दै विभाग प्रमुख कुँवरले भन्नुभयो ‘सूर्योदय हुनु अघि नै फोहोर उठाउने त भनेका हौं, तर अध्यारोमै फोहोर उठाउन सकिरहेको छैन । काठमाडौको धुँलो धुँवाले सोलार प्यानल ढाकिएर चार्ज हुन नपाएर होला ? बत्ती उज्यालो नहुँदै निभ्छ, बत्ती बलेपनि प्रकाश तेजिलो आउँदैन ।’
काठमाडौ महानगरपालिकाको प्रमुखमा निर्वाचित भएपछि महानगर प्रमुख विद्या सुन्दर शाक्यले गर्नुभएको सयवटा प्रतिबद्धता मध्ये सूर्योदय हुनु अघि नै काठमाडौको मुख्य शहरको फोहोर उठाइसक्ने प्रतिबद्धता पनि एक हो ।
काठमाडौ उपत्यकामा निर्माणको काम भइरहेकाले महानगरपालिकाको क्लिन द सिटी, ग्रीन द सिटी’ अभियान समेत प्रभावित भएको उहाँले बताउनुभयो । महानगरले सडकको धुलो संकलन गर्ने, पानी छ्याप्ने र ब्रुमर लगाउने समेतको काम गरिरहेको र निर्माणको काम नसकिंदा सम्म यो अभियान समेत प्रभावित भएको उहाँले बताउनुभयो ।


680 पटक हेरिएको 

