
जाजरकोट : वर्षौँदेखि खानेपानीको कठोर समस्या व्यहोरिरहेका नलगाड नगरपालिका-३ कटकेका बासिन्दालाई अब स्थायी समाधान मिल्ने भएको छ। नलगाड नगरपालिकाले १ करोड ५० लाख रुपैयाँको लगानीमा तुसारे खोला खानेपानी तथा सरसफाइ योजना निर्माण सुरु गरेसँगै स्थानीयको लामो प्रतीक्षा अन्त्य हुने आशा गरिएको छ।
नगरपालिकाले १२९ घरधुरीका लागि प्रति घर धारा जडान गर्ने गरी बजेट विनियोजन गर्दै आवश्यक सार्वजनिक परीक्षण तथा अनुगमन कार्य पूरा गरिसकेको छ। कटकेका तीन टोलमा खानेपानी पुर्याउने उद्देश्यसहित काम अघि बढाइएको उपप्रमुख देवका लामिछानेले जानकारी दिनुभयो। उहाँका अनुसार, यस योजना सम्पन्न भएपछि उक्त गाउँलाई पूर्ण सरसफाइ टोल घोषणा गर्ने तयारी समेत नगरपालिकाले गरिरहेको छ।
उहाँले भन्नुभयो “यो नगरपालिका द्वारा निर्माण भइरहेका ठूला खानेपानी योजना मध्ये यसलाई अत्यन्तै महत्त्वका साथ अगाडि बढाइएको छ। खानेपानीसँगै सरसफाइका संरचनाको विकासले गाउँको समग्र स्वास्थ्य र जीवनस्तरमा सकारात्मक परिवर्तन ल्याउनेछ।”
चालु आर्थिक वर्षमै सुरु भएको यो योजना आगामी असार १० भित्र सम्पन्न गर्ने लक्ष्य लिइएको छ। नलगाडका प्रत्येक घरमा शुद्ध खानेपानी पुर्याउने नगर सरकारको उद्देश्य अनुसार काम तीव्र रूपमा भइरहेको उपप्रमुख लामिछानेको भनाइ छ।
स्थानीय कर्ण ओलीले गाउँमै खानेपानीको धारो जडान हुने भएपछि आफूहरू अत्यन्तै उत्साहित भएको बताउनुभयो। अर्का स्थानीय श्याम ओलीका अनुसार, खानेपानीसँगै तीन टोलमा सरसफाइका काम अघि बढ्ने भएपछि गाउँलेहरूमा नयाँ आशा जागेको छ। स्थानीयको सहभागितामा निर्माण हुने यस योजनाले वर्षौँदेखिको पानी समस्या मात्र हल नभई बेमौसमी तरकारी खेती गर्न समेत मद्दत पुग्नेछ।
नगर प्रमुख डम्बर रावतका अनुसार, खानेपानी तथा सरसफाइको उच्चतम विकास गर्दै नलगाड नगरपालिकालाई नयाँ मोडलका रूपमा अघि बढाउने नीति नगर सरकारको छ। “भूकम्पबाट धेरै क्षति बेहोरेको नलगाडमा अब बन्ने सबै संरचना भूकम्प–प्रतिरोधी मात्र नभई दिगो विकासका दृष्टिले पनि महत्वपूर्ण हुने गरी योजना बनाइएका छन्,” नगर प्रमुखको भनाइ छ।
भेरी करिडोरमा पर्ने नलगाड नगरपालिकामा मुख्य सडकको कालोपत्रे काम अन्तिम चरणमा पुगेको छ भने गाउँ–गाउँमा सडक पहुँच विस्तारसँगै विकास निर्माणका लागि आवश्यक सामग्री ढुवानी सहज बन्दै गएको छ। सडक पहुँच विस्तारले निर्माण लागत घट्दै जानु, तथा परियोजना कार्यान्वयनमा सहजता बढ्नु, दुबै पक्षमा सहयोग पुगेको नगर प्रमुख रावतले बताउनुभयो।
यसै क्रममा, तुसारे खोला खानेपानी योजना कार्यान्वयनमा समेत सडकले ठूलो सहजता पुर्याएको नगर प्रमुखको भनाइ छ। १३ वडामा शुद्ध पानी पुर्याउने अभियानअन्तर्गत नगरपालिका मर्मत आवश्यक योजना छनोट गरी तथा प्रदेश सरकार र विकास साझेदारसँग समन्वय गर्दै नलगाड वृहत खानेपानी योजना अघि बढाइरहेको जानकारी पनि नगर प्रमुखले दिनुभयो।
यसरी, दीर्घकालीन प्रभाव पार्ने खानेपानी तथा सरसफाइ योजनाको सुरु गरिएको कामले नलगाड वासीको दैनिक जीवन, स्वास्थ्य, तथा आर्थिक क्रियाकलापमा स्थायी रूपान्तरण ल्याउने अपेक्षा गरिएको छ।


172 पटक हेरिएको 

