बर्दघाट खानेपानीको वार्षिक साधारण सभा सम्पन्न

  प्रकाश न्यौपाने   234 पटक हेरिएको

नवलपरासी : बर्दघाट खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको २५औं वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ। संस्थाका अध्यक्ष दीपक लम्सालको अध्यक्षता तथा बर्दघाट नगरपालिकाका नगरप्रमुख शम्भुलाल श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न सभामा गत वर्षका गतिविधि, आर्थिक प्रतिवेदन तथा आगामी वर्षका योजनाहरू सार्वजनिक गरिएको थियो।

सभामा नगरप्रमुख श्रेष्ठले खानेपानी तथा सरसफाईलाई नगरपालिकाले उच्च प्राथमिकताका साथ अघि बढाइरहेकाे बताउँदै शुद्ध पानी वितरणमा संस्थाले निर्वाह गर्दै आएको भूमिकाको उच्च प्रशंसा गर्नुभयो। २०५५ सालमा स्थापना भएको संस्थाले ४ हजार २ सय २१ निजी तथा संस्थागत धारामार्फत करिब २० हजार जनतालाई शुद्ध खानेपानी वितरण गर्दै आइरहेको छ।

सभामा अध्यक्ष लम्सालले संस्थागत प्रतिवेदन, उपाध्यक्ष तथा खानेपानी सुरक्षा योजना संयोजक कमल थापाले सुरक्षा योजनाको प्रगति प्रतिवेदन, सचिव शोभाकान्त कोइरालाले सचिवको प्रतिवेदन, कोषाध्यक्ष राधादेवी अधिकारीले आर्थिक प्रतिवेदन तथा लेखा समितिका संयोजक नारायण भण्डारीले लेखा प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। गत आर्थिक वर्ष २०८१/८२ मा संस्थाले १ करोड ७४ लाख ८७ हजार रुपैयाँको कारोबार गरी ६ लाखभन्दा बढी बचत गर्न सफल भएको कोषाध्यक्ष अधिकारीले जानकारी दिनुभयो। प्रस्तुत सबै प्रतिवेदन साधारण सभाले पारित गरेको व्यवस्थापक विष्णु भुसालले जानकारी दिनुभयो।

आगामी वर्षका योजना सार्वजनिक गर्दै अध्यक्ष लम्सालले २०८२/८३ मा थप ५० घरधुरीमा नयाँ धारा जडान गर्ने तथा २४ सै घण्टा खानेपानी वितरणको तयारी भइरहेको जानकारी दिनुभयो। उहाँले सुशासन सुदृढ गर्ने, पानी चुहावट नियन्त्रण, पूर्ण सरसफाई अभियान, वातावरणमैत्री कपडाको झोला वितरण, शून्य फोहर अभियान, उपभोक्ताका गुनासो सुन्न–सुनाई कक्ष स्थापना तथा जिल्लाभर खानेपानीको गुणस्तर परीक्षण गर्नेलगायतका दर्जनौँ नयाँ कार्यक्रमहरूको घोषणा गर्नुभयो।

सभामा खानेपानी तथा सरसफाई कार्यालय परासीका प्रमुख दिनेश प्रसाद शाह, निर्वतमान अध्यक्ष धातानन्द बस्याल, सल्लाहकार रविन्द्र विक्रम हमाल, जिल्ला खानेपानी महासंघका अध्यक्ष देविदत्त सापकोटा, बेलहानी खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष बृहस्पति अधिकारीलगायतले शुभकामना व्यक्त गर्दै संस्थाले २४ सै घण्टा सुरक्षित खानेपानी उपलब्ध गराउँदै आएकोप्रति उच्च प्रशंसा गर्नुभयो।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार