काभ्रे : धुलिखेल नगरपालिकालाई आगामी पाँच वर्ष भित्र खानेपानीमा आत्मनिर्भर बनाउने प्रक्रिया शुरु भएको छ । खानेपानीको स्रोतलाई व्यवस्थापन गरी पुराना स्रोतलाई जोगाउने र नयाँ –नयाँ स्रोतको खोजी गरी खानेपानीमा आत्मनिर्भर नगरपालिका बनाउने प्रक्रिया शुरु गरेको नगरपालिका प्रमुख अशोक ब्याञ्जुले जानकारी दिनुभयो ।
दिगो पानी ब्यवस्थापनका लागि निजी क्षेत्रको भूमिका सम्वन्धी कार्यशालामा धुलिखेल नगरपालिकाका प्रमुख ब्याञ्जुले नगरपालिकाका सबै वडामा खानेपानी उपलब्ध गराउन प्रक्रिया शुरु गरिएको बताउनुभयो ।
उहाँका अनुसार पुरानो धुलिखेलमा खानेपानीको एकीकृत व्यवस्थापन गरिनेछ भने बाँकी वडामा खानेपानीको स्रोत पहिचान गरी पाँच वर्ष भित्र नगरका सबै वडामा पिउन योग्य स्मार्ट पानीको उपलब्ध गराउने गरी कामको शुरुवात भएको छ ।
नगरपालिकाले शुरु गरेको यो अभियानमा धुलिखेल उद्योग बाणिज्य संघ, क्षेत्रीय होटल संघ, साउथ एशिया इन्ष्टिच्युट अफ एडभान्स स्टडिजले सहयोग गरिरहेका छन् ।
फाईभ स्टार देखि साना होटलहरु समेत रहेको धुलिखेललाई पर्यटकीय आकर्षणको केन्द्र विन्दु बनाउन र धुलिखेल आउने पर्यटकको बसाई लम्ब्याउन पनि खानेपानीको उपलब्धता पर्याप्त हुनुपर्ने नगरपालिका प्रमुख ब्याञ्जुले जानकारी दिनुभयो । धुलिखेलमा साना ठुृला गरी ५० भन्दा बढी होटल सञ्चालनमा छन् ।
धुलिखेलमा आयोजित गोष्ठीमा निजी क्षेत्रबाट पानीको व्यवस्थापन कसरी गर्न सकिन्छ भन्ने विषयमा होटल, विद्यालय र निजीले गर्दै आएको पानीको ब्यवस्थापनका सफल उदाहरणहरु प्रस्तुत गरिएको थियो ।
कार्यशालामा धरान उपमहानगरपालिकाका इन्जिनियर सुरज श्रेष्ठले पानीको दिगो ब्यवस्थापन गर्ने घर परिवारलाई नगरपालिकाले सहुलियत दिदै आएको जानकारी गराउनुभएको थियो । नेपाल उद्योग बाणिज्य संघका डा. उत्तम कुँवरले भने आकाशे पानी संकलन र स्मार्ट पानीको ब्यवस्थापनका विषयमा बताउनुभएको थियो ।


904 पटक हेरिएको 

