बेनी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको २६औं वार्षिक साधारण सभा

उत्कृष्ट उपभोक्ता तथा सहयोगी निकायहरुलाई सम्मान, नयाँ योजना सार्वजनिक

  विनोद धौलागिरि  297 पटक हेरिएको
🔗
32
Shares

बेनी, म्याग्दी : बेनी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको २६औं वार्षिक साधारण सभा बेनी बजारमा आइतबार सम्पन्न भएको छ । संस्थाको २५ वर्ष पूरा भएको अवसरलाई विशेष कार्यक्रमका रूपमा मनाइएको सभामा सामाजिक उत्तरदायित्व अन्तर्गत गलेश्वरस्थित ज्येष्ठ नागरिक आश्रमलाई ३० हजार १ सय रुपैयाँ आर्थिक सहयोग प्रदान गरिएको छ ।

कार्यक्रममा संस्थाको स्थापना कालदेखि अहिलेसम्म योगदान पुर्‍याउने संघ–संस्था तथा व्यक्तिहरूलाई प्रशंसा तथा सम्मानसमेत गरिएको थियो । पूर्व अध्यक्षहरू रेशमबहादुर बानियाँ, हरिकृष्ण श्रेष्ठ, सुवासकुमार श्रेष्ठ तथा माधवप्रसाद रेग्मीलाई सो अवसरमा विशेष सम्मान गरियो ।


त्यस्तै संस्थाका प्रमुख साझेदार संस्थाहरूमध्ये खानेपानीको प्रमुख मुहान रहेको अन्नपूर्ण गाउँपालिका–८ लाई विशेष सम्मान प्रदान गरिएको संस्थाका अध्यक्ष रमेश कुमार गिरीले जानकारी दिनुभयो ।

बेनी सामुदायिक माध्यमिक विद्यालय, जग्गा उपलब्ध गराउने बराह पाखो वन उपभोक्ता समिति, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, संघीय खानेपानी तथा ढल व्यवस्थापन कार्यालय, भू तथा जलाधार संरक्षण कार्यालय, पोखरा–जोमसोम सडक खण्डअन्तर्गत कालिगण्डकी करिडोर कार्यालय तथा बेनी नगरपालिका–२ लाई कार्यक्रममा औपचारिक रुपमा सम्मान गरिएको थियो ।

उपभोक्ताहरू मध्ये वर्षभर उत्कृष्ट कारोबार, सहयोग र सूचना प्रवाह गर्ने सेक्टर नं. ५ का यामबहादुर बानियाँ तथा न्यू वेष्ट प्वाइन्ट आवासीय माध्यमिक विद्यालयलाई पनि सोही अवसरमा सम्मान गरिएको थियो । संस्थाका उत्कृष्ट कर्मचारीको रूपमा प्रवन्धक यामबहादुर बि.क. लाई ७ हजार ५ सय रुपैयाँ नगदसहित प्रशंसापत्र प्रदान गरिएको थियो ।


सचिव केशवप्रसाद रेग्मीले संस्थाको प्रतिवेदन प्रस्तुत गर्दै बिबिध गतिविधि, चुनौती र उपलब्धिहरूको विस्तृत विवरण प्रस्तुत गर्नुभएको थियो भने कोषाध्यक्ष टंकबहादुर हमालले आर्थिक प्रतिवेदन सार्वजनिक गर्दै राजस्व, खर्च, लगानी, श्रोत र आगामी आर्थिक सम्भावनाहरूबारे प्रकाश पार्नुभएको थियो ।

अध्यक्ष रमेश गिरीले भावी योजनामा विशेष जोड दिँदै जलवायु अनुकूलनसहितको वृहत् खानेपानी आयोजनाको अन्तिम डिपिआर तयार भई संघीय खानेपानी तथा ढल व्यवस्थापन कार्यालय पोखरा मार्फत विभाग तथा मन्त्रालयमा फाइल अघि बढिसकेको जानकारी दिनुभयो । अघिल्लो वर्षको बजेट वक्तव्यमै स्वीकृत भइसकेको ३४ करोड ८२ लाख बराबरको यो योजना कार्यान्वयनको चरणमा अघि बढिरहेको उहाँको भनाइ थियो ।


जलवायु अनुकूलित वृहत् खानेपानी योजना : नयाँ पाइपलाइन, सुरक्षित मार्ग र सेवा क्षेत्र विस्तार

अध्यक्ष गिरीका अनुसार आयोजना लागू गर्न आवश्यक श्रोत अन्नपूर्ण गाउँपालिका–८ स्थित रिठाखर्क डाँडाखर्क नै हुनेछ, जहाँ अहिले २० लिटर प्रति सेकेन्ड पानी उपलब्ध छ । सुख्खा याममा पुङ्दी खोलाको पानी प्रयोग हुँदै आएको यस श्रोतको क्षमता बढाएर ३० लिटर प्रति सेकेन्ड पुर्‍याउने सम्भावना सुरक्षित रूपमा देखिएको छ ।

हालको पाइपलाइन न्यूरोडको माथिल्लो जोखिमयुक्त क्षेत्रमा रहेको हुँदा अब नयाँ पाइपलाइन बेनी बजारमा कालीगण्डकी किनार (भाइरल रोड) मार्ग हुँदै सुरक्षित रूपमा माथि उकालेर ल्याइने बताइएको छ । यसो गर्दा केही पाइप थप लागे पनि दीर्घकालीन सुरक्षा अत्यन्त बलियो हुने संस्थाको मूल्यांकन छ । नयाँ डिपिआरमा वडा नं. ६ डम्बरा क्षेत्रसम्म सेवा विस्तारको योजना समावेश गरिएको छ । साथै श्रोत सुनिश्चित भएपछि उपभोक्ताबाट आवश्यक १० प्रतिशत लागत सहभागिताको समेत अनुमति प्राप्त भइसकेको जानकारी पनि सभामा गराइएको थियो ।


संस्थाको यो वार्षिक साधारण सभा विगत २५ वर्षको अनुभव, सेवा विस्तारको यात्रा तथा भावी संरचित योजना प्रस्तुतीकरणको महत्वपूर्ण मञ्च बनेको छ । बेनी नगर र आसपासको बस्तीलाई सुरक्षित, स्वच्छ र दीर्घकालीन खानेपानी सेवा पुर्‍याउने लक्ष्यसहित संस्था आगामी वर्षहरूमा अझ सशक्त रूपमा अघि बढ्ने प्रतिबद्धताका सभामा व्यक्त गरिएको थियो ।


संस्थाका अध्यक्ष रमेश गिरी र प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी बद्रि प्रसाद तिवारी रहेको कार्यक्रममा उपभोक्ता प्रतिनिधि यामबहादुर बानियाँ, भीमकुमारी सुवेदी, पूर्व अध्यक्ष माधव रेग्मी, नेपाली कांग्रेसका अजय मिलन श्रेष्ठ, नेकपाका शेरबहादुर केसी, राष्ट्रिय साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघका कोषाध्यक्ष रक्षा भट्टराई, महासंघका गण्डकी प्रदेश संयोजक विमला पहारी, लेखनाथ साना सहरी खानेपानी तथा सरसफाइ आयोजनाका अध्यक्ष मुरारी शर्मा तथा पर्वत शिवालय खानेपानी उपभोक्ता संस्थाकी उपाध्यक्ष टुप्ला कुमारी शाक्य, संस्थाका सचिव केशव रेग्मी लगायतका वक्ताहरूले संस्थाको भूमिकाबारे धारणा राख्नुभएको थियो ।

 

 


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार