
सप्तरी : सप्तरी जिल्लामा सातौँ अन्तर्राष्ट्रिय मर्यादित महिनावारी स्वच्छता दिवस विविध कार्यक्रम गरी मनाईएको छ । स्थानीय तहका प्रतिनिधि तथा सरोकारवालाहरूलाई विद्यालय स्तरीय महिनावारी स्वच्छता सम्बन्धी आवश्यकता र चुनौतीबारे अवगत गराई आगामी नीति, योजना तथा कार्यक्रम निर्माणमा समावेश गर्न प्रेरित गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको पालिका संयोजक प्रमिला चौधरीले जानकारी दिनुभयो।
“महिनाबारीमा निहित गरिमा, समानता र अविभाज्य अधिकारहरू पुनः प्राप्त गरौँ” भन्ने मूल नारा सहित आयोजित कार्यक्रममा अग्निसाइर कृष्णसवरण, विष्णुपुर, डाक्नेश्वरी, राजगढ र सप्तकोशी गरी पाँच स्थानीय तहका २२ वटा विद्यालयका ४४ किशोरी २२ शिक्षकरशिक्षिका सहितको उल्लेखनीय सहभागिता थियो।
वेल्टहंगर हिल्फेको सहकार्यमा महुली सामुदायिक विकास केन्द्र, सप्तरीद्वारा सञ्चालित “Up-Scaling WASH System Strengthening Approach in the Terai Region of Nepal” परियोजना अन्तर्गत आयोजित कार्यक्रम मार्फत महिनावारी स्वच्छता कार्यक्रम अन्तर्गत सञ्चालन गरिएका गतिविधिहरूले विद्यालय, समुदाय र किशोरी सञ्जाल समूहहरूमा पारेको सकारात्मक प्रभाव समेटी फोटो ग्यालरी प्रस्तुतीकरण गरिएको थियो।
प्रस्तुत ग्यालरीले किशोरीहरूले आफैं पहिचान गरेका चुनौती, अवसर र समाधानका उपायहरू साझा गर्ने साझा मञ्च प्रदान गर्नुका साथै ग्यालरी वक मार्फत प्रस्तुति सीपको विकास र सहभागितामूलक सिकाइ वातावरण प्रवर्द्धन गरेको थियो।
समारोहमा राष्ट्रिय बैरागी बिद्यालय सप्तकोशी नगरपालिकाको शिक्षिका राधा थापाले महिनाबारीलाई केवल जैविक प्रक्रिया मात्र नभई किशोरीहरूको स्वास्थ्य, शिक्षा, गरिमा र मानव अधिकारसँग प्रत्यक्ष रूपमा सम्बन्धित संवेदनशील विषयका रूपमा सम्बोधन गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो।

उदघाटन समारोहका प्रमुख अतिथि एवं महुली सामुदायिक विकास केन्द्रका महासचिव चन्द्रमणि मण्डरले विद्यालयमा महिनावारीमैत्री वातावरण निर्माण गर्दै सामाजिक पूर्वाग्रह न्यूनीकरण र किशोरीहरूको आत्मविश्वास अभिवृद्धिमा सबै सरोकारवालाको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो।
कार्यक्रमको मुख्य सत्रमा शिक्षक शिक्षिका, छात्रा तथा सरोकारवालाहरूले महिनावारीमैत्री पूर्वाधार, सेनेटरी प्याडको सुरक्षित प्रयोग तथा व्यवस्थापन, गोपनीयता, आत्मसम्मान र व्यवहारगत परिवर्तनसँग सम्बन्धित अनुभव र सिकाइ प्रस्तुत गरेका थिए। साथै, किशोरीहरूले महिनाबारीका बेला अझै पनि विद्यमान सामाजिक लाञ्छना, सूचनाको अभाव तथा पूर्वाधारगत चुनौतीहरूबारे खुला छलफल गरेका थिए।
समापन समारोहमा वक्ताहरूले किशोरीहरूमा महिनाबारी सम्बन्धी सचेतना अभिवृद्धि गर्दै विद्यालय र समुदायस्तरमा सकारात्मक व्यवहार प्रवर्द्धन गर्न स्थानीय सरकार, अभिभावक र सरोकारवाला बीच सशक्त सहकार्य आवश्यक रहेकोमा जोड दिएका थिए।
सो अवसरमा जनता माध्यमिक विद्यालय, भगनी, सप्तकोशीकी कक्षा–१० की छात्रा प्रविषा मण्डलले यस प्रकारका कार्यक्रमले विद्यालय तथा समुदायमा रहेका महिनाबारी स्वच्छता सम्बन्धी समस्याहरू न्यूनीकरण गर्न महत्वपूर्ण योगदान पुर्याउने धारणा व्यक्त गर्नुभयो।

कार्यक्रममा सहभागीहरूले सिकाइ आदानप्रदानले आपसी प्रेरणा बढाएको र विद्यालय तहमा मर्यादित महिनावारी स्वच्छता व्यवस्थापन संस्थागत गर्न सहयोग पुगेको प्रतिक्रिया दिएका छन्। साथै पालिका संयोजक प्रमिला चौधरीले यस्ता पहलहरूले किशोरीहरूको गरिमा, स्वास्थ्य र समान अधिकार सुनिश्चित गर्न विद्यालय, परिवार र समुदाय बीचको सहकार्य थप सुदृढ हुने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रममा सहभागी विद्यालयका महिनाबारी स्वच्छता सम्पर्क शिक्षिका, महिला तथा बालबालिका शाखा प्रमुख, स्थानीय तहका उपप्रमुख तथा उपाध्यक्ष, परियोजना टिमका सदस्यहरू तथा वेल्टहंगर हिल्फेका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।



498 पटक हेरिएको 

