रोल्पाको धाराखर्कमा एक घर एक धारा निर्माण

  वास खबर सम्बाददाता  209 पटक हेरिएको

रोल्पा : रोल्पाको सुनिलस्मृति गाउँपालिका–८ अरेश धाराखर्कमा एक घर एक धारा निर्माण गरिएको छ । इन्टरनेशनल नेपाल फेलोसिप (आइ एन एफ) नेपाल र सुनिल स्मृति गाउँपालिकाको समन्वयमा खानेपानी योजना सम्पन्न गरी धाराखर्क गाउँमा एक घर एक धारा निर्माण गरिएको हो ।

धाराखर्कमा खडारेखोला खानेपानी उप–योजना र गोगनपानी खोला खानेपानी उप–योजनाबाट खानेपानी विस्तार गरिएको हो । यी दुई योजनाको लागत ४१ लाख रहेको छ । जसमा संस्थाको १८ लाख, गाउँपालिकाको ३ लाख र समुदायको १९ लाख लागत साझेदारी रहेकोå आइएनएफ नेपाल रोल्पाका कार्यालय प्रमुख तिलक भण्डारीले जानकारी दिनुभयो।

खडारेखोला खानेपानी उप–योजना २५ लाख ४८ हजारमा सम्पन्न भएको छ । जसमा आइएनएफ नेपालको १० लाख, गाउँपालिकाको ३ लाख र समुदायको १२ लाख १६ हजार लागतमा सम्पन्न भएको छ । त्यस्तै गोगनपानी खोला खानेपानी उप–योजना कुल १५ लाख ९४ हजारमा सम्पन्न भएको छ । जसमा आइएनएफ नेपालको ८ लाख र समुदायको ७ लाख ९४ हजार रहेको छ ।

त्यस्तै आइएनएफ नेपाल र समुदायको लागत साझेदारीमा सरसफाइ तथा स्वच्छता सम्बन्धी काम पनि भएको कार्यालयले जनाएको छ । आइएनएफ नेपालको ४ लाख ७० हजार र समुदायको १४ लाख ८८ हजार गरी १९ लाख ५८ हजारमा चङ निर्माण ४५ र करेसाबारी खेती प्रवर्द्धन गर्न धाराको फोहोर पानी संकलन ट्यांकी ४५ वटा निर्माण गरिएको कार्यालयले जनाएको छ ।

आइएनएफ नेपाल र गाउँपालिकाको साझेदारीमा सञ्चालित यस योजनाले धारा खर्कका ४५ घरधुरी र १ विद्यालय लाभान्वित भएको कार्यालयले जनाएको छ । वषौदेखि पानीको अभाव झेल्दै आएका स्थानीयका लागि घरघरमा धारा पुगेसँगै उत्साहित बनेका छन् । यसअघि खानेपानी र सिँचाइ अभाव भोग्दै आएकोमा अब त्यसको अन्त्य भएको स्थानीय रशे पुनमगरले बताउनुभयो। घरघरमा धारा आएपछि पानीको अभाव हटेको उहाँको भनाइ छ ।

योजना सम्पन्न गर्न समुदायको योगदान महत्त्वपूर्ण रहेको आइएनएफ नेपालका सामुदायिक विकास विभाग प्रमुख लेखनाथ केसीले बताउनुभयो । ‘योजना सम्पन्न गर्नमा धेरै योगदान समुदायको रहेको छ’ उहाँले भन्नुभयो।

योजना संरक्षण र दिगो प्रयोगका लागि समुदायले अपनत्व लिनुपर्ने उहाँले बताउनुभयो। गाउँपालिकाका अध्यक्ष मणिराम बुढाथोकीले खानेपानी योजना सम्पन्न भएसँगै समुदायलाई ठूलो राहत भएको बताउनुभयो । खानेपानीको अभाव भोग्दै आएका समुदायको लागि संस्थाको सहयोगमा गाउँ नै सक्रिय भएर योजना सम्पन्न गरेको बताउनुभयो।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार