तीन दशकको प्रतिक्षा समाप्त, एक घर–एक धारा कार्यान्वयन

  वास खबर सम्बाददाता  196 पटक हेरिएको

हुम्ला : हुम्लाको सिमकोट गाउँपालिका–३ को लिमाटाङगाउँका घर घरमा धारा जडान भएका छन् । प्रत्येक घरमा नयाँ खानेपानीका धारा जडान गरिएपछि स्थानीयलाई सहज भएको हो ।

सिमकोट गाउँपालिकाको सबैभन्दा अग्लो स्थानमा रहेको लिमाटाङ बस्तीका घर घरमा खानेपानीको धारा जडान गरिएको स्थानीय पेमाछिरिङ लामाले बताउनुभयो । ३० वर्ष अगाडि देखि स्थानीयले उठाउँदै आएको खानेपानी योजना निर्माणको मागले पूर्णता पाएपछि घर घरमा खानेपानीका धारा जडान भएको उहाँले बताउनुभयो ।

यसअघि स्थानीयले २० मिनेट टाढाको मूलको पानी प्रयोग गर्दै आएकोमा अब सो समस्याबाट मुक्ति मिलेको जनाउनुभयो । यता लिमाटाङगाउँकी अर्की स्थानीय पालाङ्मु लामाले घरमै खानेपानीको धारा जडान भएकाले सबैलाई सहज भएको बताउनुभयो ।

भिरालो स्थानमा गाउँ भए पनि ढलकोसमेत व्यवस्था भएकाले घरमा जडान गरिएका धाराको पानी पनि ढलसम्म निकास गर्ने कार्य भएको उहाँले बताउनुभयो । लिमाटाङगाउँमा ३९ घरधुरी रहेका छन् । सबै घरमा धारा जडान भएका कारण स्थानीयलाई एकातिर सहज भएको छ भने अर्कोतर्फ समयसमेत बचत भएको छ ।

पहिले करेसाबारीमा पानी हाल्न स्थानीयले बोकेर ल्याउनुपर्ने अवस्था थियो तर हाल घर घरमा धारा जडान गरिएपछि पाइपबाट सिधै करेसाबारीमा पानी हाल्न सहज भएको छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार